
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा बि.टि.सि (आधारभूत स्काउट तालिम) तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका भित्रका २६ वटा विद्यालयका शिक्षकहरुलाई ६ दिने ६१४ औं बि टि सि तालिम प्रदान गरिएको हो । गोदावरी- ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त तालिमको शुक्रबार एक समारोहको आयोजना गरि समापन गरिएको छ ।
स्थानीय स्काउटका प्रमुख आयुत्त ललन प्रसाद चौबेको सभाअध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, उप प्रमुख शारदा देवी रोकाया, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोकामगर, प्रधानाध्यापक लक्ष्मण कठायत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले परोपकार गर्ने क्षेत्रमा स्काउटको भूमिका महत्वपूर्ण रहेको बताए । स्काउटमा आवद्ध व्यत्तिहरुको नैतिकता, निष्ठता र राष्ट्रप्रेम समाजका लागि अनुकरणीय रहेको भन्दै उनले अरुलाई पनि यस्मा आवद्ध हुन अभिप्रेरित गर्न आग्रह गरे । स्काउटको क्षमता अभिवृद्धी गर्न पालिका संधै प्रतिवद्ध रहेको भट्टले बताए ।
त्यस्तै उप प्रमुख रोकायाले नगरपालिकालाई आवश्यक परेको बेला स्काउटले सहयोगी भूमिका निर्वाह गर्नेछ भन्नेमा आफूहरु ढुक्क रहेको बताइन् । स्थानीय स्काउटका प्रमुख आयुत्त चौबेले स्काउट विश्वका सबै मानिसका लागि भएको बताए । उनले एकपटक स्काउट भइसकेपछि संधै स्काउट हुने भन्दै स्काउट संधै परोपकारी काममा लाग्ने बताए ।
स्काउटिङ शिक्षाले गोदावरीमा सामाजिक,धार्मीक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आफूले अपेक्षा लिएको उनले बताए । गोदावरी नगरपालिकाको सहयोगमा स्थानीय स्काउटले आयोजना गरेको उक्त तालिममा २६ विद्यालयका १ १ शिक्षक र ४ जनाका कु्र गरि ३० जनालाई बि टि सि प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । स्थानीय स्काउटको संरक्षक नगर प्रमुख र प्रमुख स्काउट उप प्रमुख, शिक्षा शाखा अधिकृत सदस्य सचिव र तालिम लिएका शिक्षक मध्य एक जना स्थानीय प्रमुख आयुक्त हुने व्यवस्था रहेको छ ।
















