एक युवकद्वारा एकै परिवारका ४ जनाको हत्या

Image
maya metro

काठमाडौँ – भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ स्थित धोदलेखानीमा एक जना युवकले एकै परिवारका ४ जनाको हत्या गरेका छन् । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।

चारै जनालाई छुरा रोपेर बीभत्स तवरले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठले बताए । आरोपीले ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या गरेका हुन् । मनिषाचाहिँ हत्या आरोपीकी पत्नी हुन् ।
शनिवार राति परिवारको हत्या गरेपछि राजेन्द्रले प्रहरी कन्ट्रोलमा फोन गरेर भने– ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ ११ बजेतिर हत्या गरेर आरोपीले १ बजेतिर फोन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । संवेदनशील सूचना पाएपछि घटनास्थलमा प्रहरी पठाइएको इन्स्पेक्टर श्रेष्ठले बताए । फोन गर्नेले भनेकै ठाउँमा प्रहरी पुग्दा ४ जना मृत अवस्थामा भेटिए । हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्न राजेन्द्रलाई जिल्ला अस्पतालबाट थप उपचारको लागि धरान लगिँदैछ । उनको पेटमा चोट लागेको छ । गएराति खाना खाएर सबै जना सुतेको र सल्याङ बल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको आरोपीले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘सबै जना सुतिरहेका थियौँ सल्याङबल्याङ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यही छुरा खोसेर मैले प्रहार गरेँ ।’

nisarga

भोजपुर नपा–२ हेलौंछाबाट उनी ६ दिनअघि ससुराली गएका थिए । पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन् । पारिवारिक विषयमा उनीहरूका बिचमा मनमुटाव हुँदा विवादले हत्याको रूप लिएको हुनसक्ने प्रहरीको आकलन छ ।