अत्तरियामा अत्यधिक विषादीयुक्त टमाटर नष्ट

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाको थोक तरकारी हाटबजारमा बिक्रीका लागि ल्याइएको अत्यधिक विषादीयुक्त ५.६ क्विन्टल टमाटर नष्ट गरिएको छ ।

गोदावरी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष गोपालदत्त भट्टका अनुसार, शनिबार बिहान बजारमा परीक्षणका लागि ल्याइएका टमाटरमा उच्च मात्रामा विषादी भेटिएपछि सुरक्षा निकाय, हाटबजार ब्यावस्थापन समिति अध्यक्ष, प्राबिधिक लगायतको रहोबारमा खाडल खनी टमाटर गाडिएको हो ।

nisarga

वडाध्यक्ष भट्टले विषादीको अत्यधिक मात्रा भेटिएको टमाटर उपभोग गर्न अयोग्य ठहरिएकाले खाडल खनी नष्ट गर्नुपरेको जानकारी दिए । उनका अनुसार सार्वजनिक स्वास्थ्यलाई प्राथमिकता दिँदै केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया कैलालीले नियमित रूपमा हाटबजारमा बिक्री वितरणका लागि ल्याइने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएको छ ।
“स्वस्थ्यकर खानपान नगरवासीको अधिकार हो । त्यसैले विषादीको मात्रा तोकिएको मापदण्डभन्दा धेरै भएका तरकारी बजारमै निषेध गरी नष्ट गर्ने नीति अनुसार हामी अघि बढिरहेका छौं,” भट्टले भने ।

कृषि उपज थोक बजार समितिका अध्यक्ष डिल्लीराज जोशीले  खान अयोग्य भेटिएको टमाटर रोल्पाको तिलाबाट दाँङ आएको र दाङबाट बाट अत्तरियाको तरकारी थोक बजारमा भित्र्याइएको बताए । जोशीले किसानको मेहनत र लगानीले उत्पादन भएका तरकारी यसरी नष्ट गर्नु परेको घटनाले चिन्ता बढाएको बताए ।

उनले प्रतिबन्धित कीटनाशक औषधी मनपरीरूपमा बिक्री गर्ने एग्रोभेट पसलहरूको अनुगमन गर्न स्थानीय तहसँग आग्रह समेत गरेका छन् । साथै, किसानहरूलाई सचेत गराउने र सुरक्षित उत्पादनतर्फ प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, अत्तरियाका नायव प्राविधिक सहायक भुवनेश्वर जोशीले परीक्षणमा टमाटरमा ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा ९५.६७४ प्रतिशत रुकावट दर रहेको पाइएको हो ।

उनका अनुसार, तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम हुँदा मात्र उपभोग गर्न मिल्ने हुन्छ । ३५–४५ प्रतिशतसम्मको अवस्थामा क्वारेन्टाइनमा राख्न मिल्ने भए पनि ४५ प्रतिशतभन्दा माथिको विषादी भेटिएमा त्यस्ता तरकारी पूर्ण रूपमा उपभोग अयोग्य ठहरिन्छन् । अत्तरिया हाटबजारमा दैनिक रूपमा विषादी परीक्षण हुँदै आएको छ ।