नयाँ कोतघर निर्माण गरिँदै

Image
maya metro

डडेल्धुरा – ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर भत्किएपछि हाल नयाँ कोतघर निर्माण थालिएको छ । डडेल्धुरा सदरमुकामको सबैभन्दा अग्लो स्थान अमरगढी नगरपालिका–५ मा अवस्थित अमरगढी किल्लामा चार वर्ष पहिले २०७७ मा २० लाख रुपियाँ लागतमा निर्माण गरिएको कोतघर एक वर्ष नपुग्दै छत भत्किने अवस्थामा पुगेको थियो । ढुङ्गाले चिनाई गरेर पत्थरले छानो छाइएको कोतघरको छानोको धुरीखाँबो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा डेढ करोड लागतमा कोतघरसँगै किल्लाभित्र र बाहिर पत्थर बिछ्याउने गरी ठेक्का सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्राविधिक दीपक ओझाले जानकारी दिए । उनका अनुसार बजेट ढिला गरेर प्राप्त भएपछि असारको पहिलो साता मात्रै ठेक्का सम्झौता भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा काम नसकिने भएपछि म्याद थप गरी आर्थिक वर्ष २०८२/८३ मा काम पूरा गर्ने योजना रहेको उनले बताए ।

nisarga

नेपाली सेनाको अमरगढी नगरपालिका–१, दहमा रहेको अर्जुनवाण गण र कार्यालयले साइड क्लियर गरी ठेक्का सम्झौता गरेको प्राविधिक ओझाले जानकारी दिए । अहिले कोतघरको फाउन्डेसन तयार गरिएको उनले बताए । पुरानो कोतघरको भग्नावशेष मात्रै रहेको अमरगढी किल्लाभित्र नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम अन्तर्गतको २० लाख रुपियाँको लागतमा २०७७ मा कोतघर निर्माण गरिएको थियो ।

चालु आवमा नेपाली सेनाको अर्जुनवाण गणले अमरगढी किल्लाभित्र प्रवेश गर्ने मुख्य द्वारसमेत जीर्णोद्धार गरेको छ । सेनाले २५ लाख रकममा ठेक्का सम्झौतामार्फत सुरुङमार्गमा सालको काठ लगाएर बाटो निर्माण बनाएको छ । काठका आडमा ठुला ढुङ्गाले बनेको किल्लामा काठ कुहिएपछि ढुङ्गा भत्किने अवस्थामा पुगेका छन् । केही ठाउँमा भत्किएका छन् । सुरुङमार्गमा काठ लगाइएको किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरूले जानकारी दिए ।