थारु समुदायले अष्टिम्की पर्व मनाउँदै

Image
maya metro

थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै छ। शनिवारदेखि दुई दिनसम्म पश्चिम तराईवासी थारु समुदायले यो पर्व मनाइ रहेका हुन्। जीवन, जगत, प्रकृति, माया स्नेह, लोक संस्कृति, जीवजन्तु, जीवनशैलीसँग जोडिएको यो पर्व थारु महिलाले व्रत बसेर मनाउने रहेका छन्।

श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने अष्टिम्की पर्वको दोस्रो अर्थात अन्तिम दिन आफ्ना विवाहित चेलीबेटीहरुलाई उपहार स्वरुप विभिन्न खानपानको अग्रासन दिने चलन रहेको छ। अस्टिम्कीको गीतमा जीवन, जगत, लोक संस्कृति, मायाप्रेम, यो धर्तीको उत्पत्तिलगायत थारु समुदायको जीवनशैली समेटिएको कैलारी गाउँपालिका–५ बैजपुरका कविता चौधरीले बताए। यो पर्व थारु समुदायको पहिचानसँग जोडिएको उनको भनाइ छ।

nisarga

थारु समुदायका अनुसार अष्टिम्की पर्वमा व्रत बस्ने व्रतालुहरुले आधी रातमा भिन्सर्या भात (दर) खाएर त्यसपछि दिनभरि निराहार व्रत बस्ने चलन रहेको छ। यस पर्वको पहिलो दिन घरको भित्ता वा डेहरी (अन्न भण्डारन गर्ने माटोको भकारी) मा विभिन्न चित्रसहितको परम्परागत अष्टिम्की बनाउने गरिन्छ। अष्टिम्की भित्तेचित्रमा रोइना, डोली, कजरिक बनवाँ, रौना, पुरैनिक फूला, लाउ, रैनी मछरिया, सुख्ली कुकनियाँ, मच्छी लगायतको चित्र रहने गरेको छ। साँझपख व्रतालु महिलाले पूजाआजा गरेर अष्टिम्की टिक्ने चलन रहेको छ। परम्परागत मौलिक पहिरनमा सजिएर उनीहरुले अष्टिम्की टिकीसकेपछि अम्बा, केरा, स्याउ, काक्रो लगायतका फलफूल र पानी खाने गरेको जनाइएको छ।

यो पर्वमा अष्टिम्की गीत गाएर व्रतालुहरु रातभरि जाग्राम बस्ने गर्दछन्। यसरी गीत गाउनुलाई ‘डेङ्ग्या गैना’ भन्ने गरेको जनाइएको छ । अष्टिम्कीको गीतमा प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाइने गरेको साहित्यकार छविलाल कोपिलाको भनाइ छ। रातभरि डेङ्ग्या गाएर व्रतालुहरुले विहान अष्टिम्की पुनः टिकेर नजिकको नदी वा खोलामा गएर अष्टिम्की सेलाउने चलन छ । त्यसपछि घर फर्केर पूजाआजा गरी भात, फुलौरी, खरिया, माछा, गेडागुडी लगायतका परिकार खाने गरेको जनाइएको छ। यी सबै परिकार उनीहरुले आफू खानुभन्दा पहिले एक भाग निकालेर अलग्गै राख्ने चलन छ। यसलाई ‘फर्हार’ भन्ने गरिएको छ।

फर्हार गरेर अलग्गै राखेको परिकारलाई सोही दिन टाढा टाढाका गाउँसम्म रहेका आफ्ना विवाहित छोरीलाई उपहार स्वरुप दिने चलन छ। यसरी विवाहित छोरीलाई उपहार स्वरुप खानाका विभिन्न परिकार दिनुलाई अग्रासन भन्ने गरिन्छ।अष्टिम्की थारु महिलाको विशेष पर्व रहेको चौधरीको भनाइ छ। उनका अनुसार कुनै जमानामा एक घरका सात दाजुभाइ हलो बनाउन जङ्गल गएका थिए। उनीहरु जङ्गलमा हराएपछि उनीहरुका श्रीमतीहरु चिन्ताले खानापानी छोडेका थिए। घरको चुल्होमा आगोसमेत बलेन। कैयौं दिनपछि सबै दाजुभाइ सकुशल घर फर्केपछि उनीहरुका श्रीमती खुशीले गद्गद् भइ नुहाइधुवाइ गरेर विभिन्न किसिमका पाकवान पकाएपछि सबै मिलेर खादैँ रमाएका थिए। त्यसपछि अष्टिम्कीको व्रत बस्ने चलन भएको किंवदन्ती थारु समुदायमा रहेको छ। यो पर्वले थारु समुदायमा आत्मियता, मेलमिलाप, आपसी प्रेम बढाउने गरेको जनाइएको छ।