
दार्चुला – विद्युत् र डिजेलबाट चल्ने मिल स्थापना भएपछि दार्चुलामा परम्परागत ढिकीजाँतो र पानीघट्टको प्रयोग घटेको छ ।
गाउँघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानीपिसानीका परम्परागत साधन हराउँदै गएका हुन् । अहिले गाउँ गाउँमा धमाधम आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भइरहेका छन् । प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको छ ।

महाकाली–६ की जमुना रैखोलाले आधुनिक उपकरणले धान कुट्ने, तोरी पेल्ने, गहुँ, मकै पिस्ने परम्परागत मेसिन विस्थापित गरेको बताइन् । “ढिकी, पानीघट्ट र जाँतोमा पिसेको अनाजबाट पकाइएका परिकार निकै स्वादिला हुन्थे,” उनले भनिन् ।
विद्युतीय उपकरणले सजिलो त भएको छ, ढिकीजाँतोमा पिसेको जस्तो स्वाद नहुने उनले बताइन् । परिवर्तित समय, प्रविधिको विकास र मानिसको परिश्रम गर्ने बानी हराउँदै जाँदा परम्परागत प्रविधि लोप हुँदै गएको उनको भनाइ छ ।
परम्परागत प्रविधि लोप हुँदै गएपछि पानीघट्ट, ढिकी र जाँतोमा कुटेको चामल र पिठोसमेत पाइनै छाडेको दुहुँ गाउँपालिका–१ का रामसिंह महराले बताए ।















