
अत्तरिया – कैलालीको गोदावरीमा छाडा चौपायाले धान बाली सखाप पार्न थालेका छन् । छाडा चौपायाले धान बाली सखाप पार्न थालेपछि गोदावरी नगरपालिका वडा नम्बर- ८ का किसान हैरान भएका छन् । वडा नम्बर- ८ स्थित स्याउलेका नर बहादुर रोका मगरले रोपेको झन्डै तीन कट्टा भन्दा बढी खेतको धान छाडा पशु चौपायाले सखाप बनाइदिएका छन् ।
खेत वरिपरि बार लगाएको भए पनि रातीको समयमा बार भत्काएर चौपायाहरु भित्र पस्ने गरेको मगरले बताए । दुख गरेर रोपेको तीन कट्टा भन्दा बढी खेतको धान छाडा चौपायाले सखाप पारेपछि खेती गर्नुको अर्थ नै नभएको आफूलाई महसुस भएको उनले बताए । आफूले लगाएको बालीनालीको फाइदा त के लगानी पनि नउठ्ने गरी चौपायाले नष्ट गरेको उनको भनाई छ ।

छाडा चौपाया व्यवस्थापन गर्न स्याउलेमा अस्थायी टहरा निर्माण गरिए पनि प्रभावकारी हुन सकेको छैन । स्याउलेको विश्वनाथ महादेव मन्दिर नजिकै सूर्योदय सामुदायिक वनले दुई वर्ष अघि करिब ७० चौपाया अटाउने अस्थायी टहरा निर्माण गरेको थियो । आर्थिक सीमितता कारण टहरा व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न चुनौती रहेको वनकी अध्यक्ष जगत्रा सिंहको भनाई छ ।
अहिले यहाँ दैनिक ७० भन्दा बढी चौपायाहरु राती बास बस्दै आएको उनले बताइन् । “आथिर्क अभावका कारण हामीले हेरालो राख्न सकेका छैनौँ, सिंहले भनिन् आफै बानी लागेका ७० भन्दा बढी चौपाया टहरामा राती बास बस्छन् । टहरा सरसफाइ कोषाध्यक्षले गर्दै आउनु भएको छ ।” दुख गरी रोपेको बाली छाडा चौपायाले यसरी नष्ट गरी दिँदा किसानको मनोबल घट्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्ट बताउँछन् ।
देख्दा सामान्य लागे पनि यो विषय गम्भीर भएको र खेती गरेर जीविकोपार्जन गर्ने किसानको खाद्य सुरक्षा नै सङ्कटमा पर्ने उनको भनाई छ । वडा, नगर सरकार लगायत सरोकारवाला सबैले पहल गर्नुपर्ने विष्टले बताए । छाडा पशु चौपाया व्यवस्थापन गर्न गोदावरी नगरपालिकाले वडा नम्बर- ७ स्थित गोलादेउ सामुदायिक वनमा गौशाला निर्माण गरे पनि पूर्ण रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।
छाडा पशु चौपाया व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले गत वर्षको भदौमा गौशाला निर्माण गरेको थियो । उक्त गौशालामा हाल करिब एक सय पशु चौपायाहरु राखिएको गौशालाका संरक्षक यतिराज कँडेलले जानकारी दिए । गत भदौमा एउटा मात्रै ट्रस्ट निर्माण गरेर सञ्चालनमा ल्याइएको उक्त गौशालामा हाल एउटा ट्रस्ट थप गरिएको छ भने पानीको आपूर्ति गर्न डिप बोरिङ जडान गरिएको छ ।
ट्रस्ट थप भएपछि ब्याउने र दूध दिने गाईहरुलाई छुट्टै राख्ने योजनामा आफूहरु रहेको कँडेलले बताए । सोही योजना अनुसार गौशाला परिसरमा घाँस छरिनुका साथै वृक्षारोपण पनि गरिएको उनले बताए । गौशाला पूर्ण रुपमा सञ्चालनमा आइसकेपछि नगर भित्रका विभिन्न क्षेत्रमा छरिएर रहेका छाडा पशु चौपायाहरूलाई गौशालामै व्यवस्थित गरिने गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट बताउँदै आएका छन् ।















