
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- ५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

विश्वविद्यालय विधेयक सर्वसम्मत पारित भइ राष्ट्रपतिबाट समेत प्रमाणिकरण भएको विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा गइसकेको अवस्थामा हालसम्म पनि विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेको समितिको भनाई छ ।
यही आर्थिक वर्ष भित्रै चिकित्सा शिक्षा (एम.बी.बी.एस) का लागि सिट संख्या निर्धारणको प्रक्रिया र प्रयोगात्मक अभ्यासका लागि ६०० शैयाको अस्पताल निर्माणका लागि बनेको उक्त संरचनामा कम्तिमा यसै आर्थिक वर्षमा ३०० शैयाको अस्पतालको संगठनात्मक व्यवस्थापन तथा सर्वेक्षण (ONM) अगाडि बढाउन विशेष पहल गरिदिन पनि समितिले मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।
“विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा गइसकेको अवस्थामा हालसम्म पनि विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेकोमा स्वयम् मुख्य मन्त्री ज्यू पनि उक्त ऐन बमोजिम रहने २५ जना सभा सदस्य मध्ये कुलपति सम्माननीय प्रधानमन्त्री, सह-कुलपति शिक्षा, स्वास्थ्य रहेको शिक्षामन्त्रीको अध्यक्षतामा रहने १० जना विश्वविद्यालय सभाको पदेन सदस्य रहको हुँदा माननीय मुख्यमन्त्री ज्यूको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले यश प्रक्रियामा जटिलता देखिएको भए पनि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका छन् । मुख्यमन्त्री पनि विश्वविद्यालय सभाको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
















