
अत्तरिया – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गेटा अस्पतालको आकस्मिक सेवाको उद्घाटन गरेका छन् ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिको विारेधकाबिच बिहिबार (आज) स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले आकस्मिक सेवाको उद्घाटन गरेका हुन् ।

समितिले विरोध गरेपछि बुधबार उद्घाटन गर्ने कार्यक्रम स्थगित गरिएकोमा आज मन्त्री पौडेलले गेटा अस्पतालको १० शय्याको आकस्मिक सेवा उद्घाटन गरेका हुन् ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने बाँचा गरेका मन्त्री पौडेलले एउटा कक्षको मात्र उद्घाटन गर्न लागेको भन्दै बुधबार विरोध गरेका थिए ।
त्यसपछि बुधबार मन्त्री पौडेलले आकस्मिक सेवाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो । तर, आज भने मन्त्री पोडेलले सुटुक्क गेटा अस्पतालको आकस्मिक सेवाको उद्घाटन गरेका हुन् । सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले कसैलाई पनि जानकारी नदिएर गोप्य रुपमा गेटा अस्पतालको आकस्मिक सेवाको उद्घाटन गरिएको बताए ।
उनले भने ‘ गोप्य रुपमा १० शय्याको आकस्मिक सेवा उद्घाटन गरिएको छ । हामीले ३ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने,एमबीबीएस पढाइ सुरु हुनुपर्ने माग राखेका छौँ ।सञ्चालन नभए संघर्षका कार्यक्रम जारी राख्छौँ ।’ गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब बढीका भौतिक संरचना निर्माण गरिएका भएपनि हाल ५० शय्याको अस्पताल सञ्चालनमा छ ।














