
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका सडक निर्माण ढिला सुस्ती विरुद्ध मेयर विरेन्द्र भट्ट सहित उप मेयर, वडा अध्यक्ष र स्थानीयहरु सडकमा उत्रिएका छन् । नगरको ३, १०, ११ र १२ नम्बर वडाध्यक्षहरू आज (सोमबार) अत्तरिया चोकमा सडक आन्दोलनमा उत्रिएका हुन । निर्माण कम्पनीको चरम लापरबाहीका विरुद्ध सुरु गरिएको आन्दोलन निरन्तर जारी रहेको संघर्ष समितिले जनाएको छ ।
कैलालीको चौकीडाँडा–फल्टुडे सडक खण्ड, जसले गोदावरी–३, १०, ११ र १२ नम्बर वडालाई जोड्छ । निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । स्थानीयवासी र जनप्रतिनिधिले पटक–पटक ध्यानाकर्षण गराए पनि ठेक्का लिएको एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले काम नगरेपछि संघर्ष समिति गठन गरी दबाबमूलक आन्दोलन थालिएको हो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले “ओलानीलाई हेप्न पाइँदैन, ढिलासुस्ती गर्न पाइँदैन, काम नगर्ने भए ठेक्का रद्द गर” जस्ता नारा लगाएका थिए । संघर्ष समिति संयोजक विक्रम बिकले विगतमा वडाध्यक्षहरूले कार्यालय सञ्चालन समेत सडकमै बसेर गरेको कार्यप्रति स्मरण गर्दै भने, “यदि तत्काल कामलाई तीव्रता दिइएन भने चरणबद्ध आन्दोलनमा उत्रिन्छौं ।”
यस्तै नगर प्रमुख विरेन्द्र भट्टले पनि आन्दोलनको समर्थन गर्दै भने, “हाम्रो लक्ष्य भनेको सडक निर्माण हो । ठेकेदारलाई पटक–पटक अनुरोध गर्दा पनि वेवास्ता गरेकाले सडकमा आउन बाध्य भयौं । अब काम रोकियो भने आन्दोलन निरन्तर हुन्छ ।” ठेकदारहरूले भने मंसिर महिनाभित्र काम सम्पन्न गर्ने मौखिक आश्वासन दिएका छन् । तर आन्दोलनरत पक्षले भने केवल वाचा–प्रतिवद्धतामा निर्भर नरहने, प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायलाई बोलाएर औपचारिक सम्झौता गराउने बताएका छन् ।















