तहसनहस गोदावरीमा सुरक्षित भेटिएको ‘मेरो गोदावरी’

Image
maya metro

अत्तरिया – गत मङ्गलवार जेनजी प्रदर्शनले देशैभर गरेको विध्वंसको चपेटामा कैलालीको गोदावरी नगरपालिका पनि पर्‍यो । गोदावरी नगरपालिकाको सुन्दर भवन जेनजी प्रदर्शनको आगजनीबाट तहसनहस बनेको छ ।

खरानीको थुप्रो र भुँइका टायल, मार्बल चर्किएर कुनै पनि शाखामा छिर्न सक्ने अवस्थामा छैन । कार्यालय सञ्चालनमा आएको दुई वर्ष नपुग्दै जेनजी समूहले काम नै नलाग्ने गरी क्षति पुगाएका छन् । हरेक शाखाका कागजात खरानीमा परिणत भएका छन् भने जिन्सीका सारा सामानहरू जलेर नष्ट भएका छन् ।

nisarga

मङ्गलवार बिहान साढे १० बजे सुरुमा गोदावरी नगरपालिका कार्यालय निसाना बनाएका जेनजीका समर्थक सिसा तोडफोड र ढुंगामुडा गरेर फर्किएका थिए । उनीहरू अत्तरिया क्षेत्रमा रहेका पार्टीका कार्यालय, नेता, जनप्रतिनिधिका घर जलाएर फेरि नगरपालिका पुगेका थिए ।

दोस्रो पटक नगरपालिका कार्यालय पुगेका उनीहरूले नगरपालिका नै ध्वस्त पारेका हुन् । नगरपालिकाका ती दृश्यहरू देख्दा मनै कुँडिने खालका छन् । ध्वस्त नगरपालिकामा ‘मेरो गोदावरी’ नामको किताब भएको केही कट्टाहरु मात्रै सुरक्षित भेटिएको छ ।

विद्यालयहरूमा पठाउन शिक्षा शाखाले तयारी अवस्थामा राखेको उक्त किताब नगरपालिकाको स्थानीय किताब हो । गोदावरी नगरपालिकाका शिक्षा शाखा अधिकृत विष्णु अवस्थीका अनुसार शाखाको कोठाभन्दा बाहिर ग्यालरीमा रहेका किताबहरू जोगिएका हुन् । धेरै विद्यालयहरुले किताब लगिसकेको भए पनि वर्षे बिदाका कारण केहि विद्यालयहरुले लगेका थिएनन् । छपाईमा ढिलाई हुँदा उनीहरुले नगरपालिकाको वइबसाइटबाट प्रिन्ट निकालेर अध्ययन, अध्यापन भने गराइरहेका थिए ।

केहीले एक दुई दिनमा लिन आउने भनेका थिए । देशको अवस्था सामान्य हुँदो हो त ‘मेरो गोदावरी’ आज बालबालिकाको हातमा हुन सक्थ्यो । तर फेरिएको परिस्थितिका कारण नगरपालिकाको गेट अगाडि असरल्ल छ। अवस्थीका अनुसार शाखाका अखित्यार, अदालतका कागजातदेखि महत्वपूर्ण निर्णयहरु सबै खरानी भएका छन् ।