
धनगढी – कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयन गर्नका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा बैठक बसेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, किसान, तथा धान खरिद व्यवसायीहरू सहभागी थिए।
बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, धनगढी शाखालाई यथाशीघ्र धान खरिद प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ। साथै, जिल्लाबाट धान खरिदको परिमाण साबिकभन्दा वृद्धि गरी कम्तीमा ३ लाख क्विन्टलसम्म पुर्याउन पनि आग्रह गरिएको छ।

निर्णयअनुसार, कार्तिक ११ गतेभित्र धान खरिद प्रक्रिया प्रारम्भ गर्ने व्यवस्था मिलाउन खाद्य कम्पनीलाई अनुरोध गरिएको छ। साथै, स्थानीय तहको समन्वयमा आवश्यकता अनुसार थप खरिद केन्द्रहरू स्थापना गर्न पनि पहल गर्न भनिएको छ।
बैठकले नेपाल सरकारले तोकेको समर्थन मूल्यको आधारमा धान खरिद–बिक्री सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै, समर्थन मूल्य निर्धारण गर्दा किसान र उपभोक्ताको हित दुवै सुनिश्चित हुने गरी व्यवहारिक मूल्य तोक्न सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ।
त्यस्तै, अन्य देशका नीति तथा मूल्यहरूको विश्लेषण गरी त्यसको आधारमा व्यवहारिक नीति निर्माण गर्न नेपाल सरकारलाई सुझाव दिने निर्णय गरिएको छ।
कैलालीका किसानलाई परम्परागत रूपमा लगाउने मोटो धानको विकल्प खोजी गरी बजार मागअनुसार मसिनो तथा गुणस्तरीय धान उत्पादनमा प्रोत्साहन दिने उद्देश्यले चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश, स्थानीय तह तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
बैठकले समर्थन मूल्यअनुसार धान खरिद–बिक्री भएको वा नभएको अनुगमन गर्न समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिमा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, किसान र व्यवसायीहरू सम्मिलित हुनेछन्।
साथै, सबै धान खरिद केन्द्रहरूमा खरिद–बिक्री मूल्य सर्वसाधारणले स्पष्ट देख्न सक्ने गरी टाँस गर्न समेत बैठकले निर्देशन दिएको छ।
बैठकमा, भाइटिकाको दिनदेखि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा अनशनरत नेत्र भण्डारीले सरकारको प्रतिबद्धता पश्चात अनशन अन्त्य गर्ने निर्णय पनि गरिएको छ।
उक्त निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा बैठक १५ दिनभित्र बस्ने जनाइएको छ।
हाल कैलालीमा किसानहरूले सरकारले तोकेको समर्थन मूल्यभन्दा कम दरमा धान बिक्री गर्न बाध्य छन्। सरकारले भदौ २६ गते मोटा धानको समर्थन मूल्य ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको थियो। तर किसानहरू हाल सो मूल्यभन्दा एक हजारदेखि १५ सय रुपैयाँ कममा धान बिक्री गर्न बाध्य छन्।















