
अत्तरिया – कैलालीको गोदावरीमा निर्मित कृषि हाटबजार अलपत्र परेको छ । गोदावरी नगरपालिका-१ अत्तरियामा निर्मित कृषि हाटबजार अलपत्र परेको हो ।
गोदावरी नगरपालिका संगको सहकार्यमा जर्मन विकास सहयोग संस्था जिआईजेड (जिआइजेड)ले मूल्य अभिवृद्धी करसहित ३४ लाख ७ हजार २७६ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको थियो ।

१ नम्बर वडा कार्यालय नजिकै ट्रससहित निर्माण गरिएको हाटबजारको गत जेठ २६ गते गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए ।
उद्धघाटन गरेको ५ महिना बितिसक्दा पनि उक्त हाटबजार सञ्चालनमा भने आउन सकेको छैन । गोदावरी नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले हाट बजार सञ्चालनका लागि दुईपटक सूचना जारी गर्दा पनि आवेदन नै नआएको बताइन् ।
४२ वटा स्टल राख्न सकिने गरी निर्माण गरिएको हाट बजार सञ्चालनको लागि दुईपटक सूचना जारी गर्दा समेत एउटा पनि आवेदन नपरेपछि सञ्चालन गर्न नसकिएको मल्लको भनाई छ ।
“निर्माण सम्पन्न भएपछि प्रति स्टल १० रुपैँया रहने गरी हामीले दुईपटक स्टलका लागि आवेदन आह्वान गरेउँ, आवेदन नै परेन । मल्लले भनिन्, त्यसपछि जेनजी आन्दोलन नै भइहाल्यो अब केहि दिनमा फेरि आवेदन आह्वान गर्ने योजना बनाएका छौँ ।”
हाटबजार घेरबार गरेर व्यवस्थित गर्ने योजना समेत नगरपालिकाको रहेको उनले बताइन् । हाटबजारका लागि भौतिक संरचना निर्माण भएपनि उपयुक्त स्थान छनोट नभएको वडा नम्बर १ का वडा सदस्य गम्भिर साउँद बताउँछन् ।
“हाटबजार नजिकै कृषि उपज थोक बजार,मुख्य बजारभन्दा अलि टाढा र बस्ती नभएको ठाउँमा पनि भयो त्यसैले किसानहरुले रुचि नदेखाएका हुन् की जस्तो लागेको छ ।,साउँदले भने ।”















