
अत्तरिया – कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा १९ औँ संस्करणको सुदूरपश्चिम महोत्सव हुने भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने भएको हो ।
आईतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले मंसिर २२ देखि २ पुससम्म महोत्सवको आयोजना गरिने जानकारी दिए ।

महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताए ।
महोत्सवमा अनुमानित ३ करोडको लगानी हुने दाबी गरिएको छ भने उद्योगी व्यवसायको १५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ ।
महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, होटेल र सूचना प्रविधि गरी ५ सय सम्म स्टलहरु रहने संघका अध्यक्ष ओझाले जानकारी दिए ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५० टिकट दर राखिएको छ भने सर्वसाधारणलाई रु. १००, जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निशुल्क गरिने संघका अध्यक्ष ओझाले जानकारी दिए ।















