४७ वर्षअघि रेडियो चोरेको अभियोगमा स्याङ्जाका लालबहादुर पक्राउ !

Image
maya metro

काठमाडौं – स्याङ्जाका ७० वर्षीय लालबहादुर राना आइतबार आफ्नै किराना पसलमा आएका ग्राहकसँग गफिँदै थिए । उनी किराना व्यापार गर्दै थिए । उनको मुहारमा न कुनै आशंका थियो, न कुनै त्रास । उनी हाँसी–खुसीका साथ पसलमा आएका ग्राहकले भनेअनुसारका किराना सामग्री बेच्दै थिए ।

त्यसो त, गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुरले किराना पसल चलाएको दशकौँ भइसकेको थियो । आइतबार पनि त्यसैको निरन्तरता थियो । किराना सामग्री किन्ने एक ग्राहक पर्खिँदै थिए ।

nisarga

अर्का ३–४ जनाको टोली पसलमा प्रवेश गर्‍यो । लालबहादुरलाई लाग्यो, उनीहरू पनि ग्राहक नै हुन् । उनले सोधिहाले, “भाइहरूलाई के चाहिन्छ ?”

तर, ग्राहककै भेषमा पसलमा पुगेका ती व्यक्तिहरूले उल्टै उनको तीन पुस्ते सोध्न थाले । लालबहादुरले उनीहरूले सोधेजस्तै आफ्नो सम्पूर्ण तीन पुस्ते विवरण सुनाए । ती व्यक्तिहरू किन आफ्नो तीन पुस्ते सोधिरहेका छन्, उनले कुनै भेउ पाएनन् ।

तर, जब उनले दिएको तीन पुस्ते विवरण उनीहरूले ल्याएको कागजातसँग मिल्यो । त्यसपछि ती व्यक्तिहरूले आफू प्रहरी भएको परिचय दिए । अनि भने, “स्याङ्जा प्रहरी कार्यालयमा जानुपर्ने भयो, तपाईंसित केही कुरा बुझ्नुछ ।”

७० वर्षीय लालबहादुरले प्रहरीले नै जाउँ भनेपछि ‘नाइनास्ती’ गर्ने कुरा थिएन । उनले पसल बन्द गरे । प्रहरीको गाडीमै वडा प्रहरी कार्यालय वालिङ हिँडे । उनलाई आफूलाई किन र केका लागि लैजाँदैछ भन्नेमा बेखबर थिए ।

बरु, केही कुरा सोधपुछ गरेर फर्काउँछन् भन्ने लाग्यो ।

तर प्रहरी कार्यालय पुगेपछि भने सोधपुछ सुरु भयो, “तपाईंले २०३५ सालमा छिमेकीको रेडियो र सुनका गहना चोरी गर्नुभएको रहेछ नि, हो ?”

प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार त्यो सुनेर लालबहादुरको होसै उड्यो । उनले प्रहरीको प्रश्नको उत्तर दिन सकेनन् । अनभिज्ञता प्रकट गर्दै भने, “खै, त्यतिबेला के भयो, याद छैन ।”

लालबहादुरले छिमेकी दिलबहादुर रानाको घरबाट रेडियो र सुनका गहना चोरी गर्दा उनी २३ वर्षका मात्र थिए । त्यही कसूरमा उनीविरुद्ध चोरी मुद्दा दर्ता भएको थियो ।

सुरुवातमा आफूविरुद्ध मुद्दा परेको थाहा पाएका लालबहादुरले त्यो मुद्दा त्यत्तिकै सकियो होला भनी ठानेका रहेछन् ।

तर, स्याङ्जा जिल्ला अदालतले मुद्दा दर्ता भएको १० वर्षपछि २०४५ मंसिर १६ गते उनलाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको रहेछ ।

उक्त फैसलाविरुद्ध लालबहादुर न त माथिल्लो अदालत गए, न कैद सजाय नै भोगे । फैसलाबारे उनलाई कुनै जानकारी पनि भएन । तर, त्यही फैसला कार्यान्वयनका क्रममा प्रहरीले ४७ वर्षपछि उनलाई पक्राउ गरेको हो ।

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले फैसला कार्यान्वयन गर्न छुट्टै प्रहरी टोली परिचालन गरिएको र उक्त टोलीले लालबहादुरलाई पक्राउ गरेको बताए ।

उनले भने, “म आफैँ जन्मिनुअघिको चोरी मुद्दा रहेछ । उक्त मुद्दाको पैmसला कार्यान्वयन भएको रहेनछ । हाम्रो टोलीले ती व्यक्ति कहाँ छन् भनी सोधखोज गर्दा लालबहादुर फेला परेका हुन् ।”

आइतबार पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालतले थुनाका लागि कारागार चलान गरेको छ । २३ वर्षको उमेरमा गरेको अपराधको सजाय भुक्तान गर्न उनी ७० वर्षको वृद्ध उमेरमा जेल पुगेका हुन् ।

बाह्रखरीबाट साभार गरिएको