अनेरास्ववियुको नेतृत्व विवाद सतहमा

Image
maya metro

काठमाडौ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विवाद सतहमा आएको छ । जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अध्यक्ष डा।सुजन कडरिया संगठनको काममा फर्किएपछि उनलाई स्वागत गर्ने र रोक्ने पक्षबीच विवाद बढेको हो ।

महासचिव दीपक धामीले वक्तव्य जारी गरेरै कडरियालाई अनेरास्ववियुको गतिविधिबाट टाढा रहन भनेका थिए । ‘जेनी आन्दोलन पश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ,’ धामीले वक्तव्य जारी गरेरै भनेका थिए ।

nisarga

एमालेले ‘घर फर्क अभियान’ चलाएकै दिन (२४ कात्तिकमा) कडरिया अध्यक्षको हैसियत सहित अनेरास्ववियुको कार्यालय गएका थिए । जेनजी आन्दोलनका बेला तोडफोड भएको कार्यालयमा आफ्नो तस्वीर राखेरै उनले नियमित काम थालेका थिए ।

त्यसैदिन कडरियाले वक्तव्य जारी गरेर जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अरु सबै नेताहरुलाई पनि आ–आफ्नो भूमिकामा फर्कन अपिल गरेका थिए । ‘हाम्रो मातृ पार्टी नेकपा एमालेले आह्वान गरेको घर फर्क अभियानलाई हामी उत्सुकता र जिम्मेवारीपूर्वक समर्थन गर्दै आफ्ना सम्पूर्ण कार्यकर्तालाई तत्काल आफ्नो जिम्मेवारीमा फर्कन हार्दिक अपिल गर्दछौं,’ कडरियाले वक्तव्यमा भनेका थिए ।

कडरियालाई केही पदाधिकारीले जुलुस सहित केन्द्रीय कार्यालयमा लगेका थिए । र, कार्यालयमै अध्यक्ष कडरियाले सम्बोधन समेत गरेका थिए ।

लगत्तै, महासचिव धामीले परित्याग गरिसकेको अध्यक्ष पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरे । महासचिव धामीको प्रतिवाद भने उपमहासचिव कमल जोशीले गरे । अध्यक्ष कडरिया र महासचिव धामीले जस्तै उपमहासचिव कमल जोशीले पनि संगठनको लेडरप्याडमै वक्तव्य जारी गर्दै अध्यक्ष कडरियालाई हटाउने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

‘विद्यार्थीमाथि गोली चल्दा नैकिताको आधारमा अध्यक्षले सामाजिक सञ्जाल मार्फत राजीनामा दिनु स्वभाविक र नैतिक कदम थियो,’ जोशीले लेखेका छन्, ‘पार्टी केन्द्रीय समिति सदस्य सहित थुप्रै नेताहरुले राजीनामा दिँदा पनि पार्टीले त्यसलाई अस्वीकार गरेको अवस्थामा, पार्टीहरुसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी संगठनका अध्यक्षविरुद्ध कुनै कारबाही नहुँदा, आफ्नो पद र जिम्मेवारीको ख्याल नगर्ने महासचिवको रवैयाले संगठनभित्र ध्रुवीकरण बढ्दै गएको छ ।’

जोशीले धामीलाई पद हडप्ने योजना अन्तर्गत गतिविधि गरेको समेत आरोप लगाएका छन् । ‘महाधिवेशनको मण्डपबाट निर्वाचित अध्यक्षलाई अपदस्थ गरेर, दुई जना सिनियर उपाध्यक्षहरु हुँदाहुँदै संगठनको पद हडप्ने दुस्साहस नगर्नका लागि अनुरोध गर्दछौं,’ जोशीले वक्तव्यमा भनेका छन् ।