
धनगढी – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष कैलालीमा निर्धारण गरेको धान खरिद कोटा पूरा हुन लागेको छ । यही कात्तिक १२ गतेबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीको पहिलो चरणका लागि निर्धारण गरिएको कोटा पूरा हुन लागेको हो ।
खाद्यले जिल्लामा पहिलो चरणका लागि ३५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरेकोमा बुधबारसम्म २८ हजार चार सय ४२ दशमलव १६ क्विन्टल धान खरिद भइसकेको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।
उनका अनुसार निर्धारित कोटामा अब ६ हजार पाँच सय ५७ दशमलव ८४ क्विन्टल धान मात्रै खरिद हुन बाँकी छ । टीकापुर खरिद केन्द्रबाट ७ हजार ४ सय ६१ दशमलव ५६ क्विन्टल,मोहनपुरबाट ४ हजार ८ सय ३० दशमलव ९७ क्विन्टल र सत्तीबाट ५ हजार ३ सय १८ दशमलव ५३ क्विन्टल धान खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

गौरीगंगा खरिद केन्द्रबाट ३ हजार ५ सय १९ दशमलव १७ क्विन्टल,भजनीबाट ३ हजार ९ सय ९२ दशमलव १८ क्विन्टल र जोशीपुरबाट ३ हजार ३ सय १९ दशमलव १७ क्विन्टल धान खरिद भएको उनले जानकारी दिए । खाद्य कम्पनीले मोटा धान गरिद गरिरहेको र सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गरिरहेको उनले बताए । यस वर्ष सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार चार सय ६३.८१ निर्धारण गरेको छ ।
‘यस वर्ष कम्पनीले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको छ’ उनले भने ‘लगभग कोटा पूरा हुन थालेको छ । केही दिनमै पूरा हुन्छ होला । कोटा थपका लागि पहल भइरहेको छ ।’
गत वर्ष जिल्लामा कम्पनीको धान खरिद कोटा ५५ हजार क्विन्टल रहेकोमा ३४ हजार ५ सय १ क्विन्टल मात्रै खरिद भएको थियो ।
















