धनगढीको ‘बिरानो’ डमौलिया गाउँ

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिका भित्रै पर्ने डमौलिया गाउँ आज पनि ‘बिरानो’ जस्तै बनेको छ। उपमहानगरपालिकाको वडा नम्बर १७ मा पर्ने यो गाउँ बजेट, विकास र पहुँचको दृष्टिले अझै ओझेलमा परेको छ। पक्की पुल, स्वास्थ्य सेवा, यातायात र बजार पहुँचजस्ता आधारभूत सेवाबाट वञ्चित हुँदा यहाँका करिब ६ सय घरधुरीका नागरिक दैनिक कठिन जीवन बिताउन बाध्य छन्।

डमौलिया गाउँलाई शिवगंगा नदी र जहरे खोलाले दुईतर्फबाट घेरेको छ। स्थानीयका अनुसार वास्तवमा यो गाउँ तीनवटा नदीको बीचमा रहेको छ। तर ती नदीहरूमा हालसम्म कुनै पनि मोटरेबल पक्की पुल निर्माण हुन सकेको छैन। यसका कारण गाउँ धनगढी सहरसँग प्रत्यक्ष रूपमा जोडिन सकेको छैन। नदीमा कच्ची बाटो वा जोखिमपूर्ण रूपमा खोला तरेर यात्रा गर्नु यहाँका नागरिकको बाध्यता बनेको छ।

nisarga

स्थानीय समाजसेवी पुष्प रानाका अनुसार डमौलिया गाउँ श्रीलङ्काको टापुजस्तै अलग–थलग अवस्थामा छ। उनले भने, “यो गाउँ तीनवटा नदीले घेरेको छ। हामी नदीको बीचमा छौँ। सामान्य आवतजावतका लागि एउटा झोलुंगे पुल त छ, तर त्यसले पर्याप्त सेवा दिएको छैन। हामी पनि धनगढीका नागरिक हौँ, तर धनगढी बजार र हाम्रो गाउँको अवस्था तुलना गरिदिनुहोस्, कति ठूलो अन्तर छ।”

पुल नहुँदा सबैभन्दा ठूलो असर स्वास्थ्य सेवामा परेको छ। सुत्केरी व्यथा लागेका महिला, आकस्मिक बिरामी, बालबालिका तथा वृद्धलाई समयमै अस्पताल पु¥याउन कठिन हुने गरेको स्थानीयहरू बताउँछन्। वर्षायाममा नदीमा पानी बढेपछि गाउँ पूर्ण रूपमा अलग–थलग पर्छ। यस्तो अवस्थामा बिरामी बोक्न एम्बुलेन्ससमेत गाउँसम्म पुग्न सक्दैन। स्थानीय बलराम पाण्डेयका अनुसार, “सबैभन्दा बढी समस्या सुत्केरी र सिकिस्त बिरामीका बेला हुन्छ। एम्बुलेन्स मगायौँ भने धनगढीबाट गौरिगंगा हुँदै घुमेर फर्किनुपर्छ। सबैभन्दा ठूलो समस्या नै नदीको हो। यदि पुल बन्यो भने यो गाउँ सिधै धनगढीसँग जोडिन्छ।”

किसानको उत्पादनले बजार नपाउने समस्या

डमौलिया गाउँका अधिकांश बासिन्दा कृषि पेसामा संलग्न छन्। यहाँ तरकारी, दूध, कुखुरा, माछा उत्पादन हुँदै आएको छ र गाउँ कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेको छ। तर, पुल नहुँदा उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन्। ढुवानी खर्च अत्यधिक बढ्ने, कहिलेकाहीँ ढुवानी नै सम्भव नहुने अवस्था रहेको उनीहरूको गुनासो छ। स्थानीय कृषक उजिर सिंह साउँदले भने, “पुल बने यहाँको उत्पादन सहजै धनगढी बजारसम्म पुग्थ्यो। त्यसो भए किसानको आम्दानी पनि बढ्थ्यो। अहिले उत्पादन भएर पनि बजार नपाउँदा धेरै समस्या भएको छ।”

डमौलिया गाउँवासीका लागि वडा कार्यालयबाट उपलब्ध हुने सेवा लिन पनि सहज छैन। सामाजिक सुरक्षा भत्ता, सिफारिस, दर्ता तथा अन्य प्रशासनिक सेवाका लागि समेत नदी तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। डमौलिया गाउँलाई धनगढीसँग प्रत्यक्ष रूपमा जोड्न शिवगंगा नदीमा मोटरेबल पक्की पुल निर्माण गर्नुपर्ने स्थानीयवासीको मुख्य माग रहेको छ। उनीहरूका अनुसार पुल निर्माण भए शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा रोजगारीका सबै क्षेत्रमा ठूलो परिवर्तन आउनेछ। वर्षौँदेखि पटक–पटक माग उठे पनि हालसम्म ठोस पहल हुन सकेको छैन।

प्रदेशको मुख्य सहर र प्रशासनिक केन्द्र मानिने धनगढीमै यस्तो दुर्गम र पछाडि परेको गाउँ हुनु आफैंमा विडम्बनापूर्ण रहेको स्थानीय बताउँछन्। अब स्थानीय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यान डमौलिया गाउँतर्फ जानु आवश्यक देखिएको छ।