रुख कटान नहुँदा दैजीछेला औद्योगिक क्षेत्र निर्माण अलपत्र

Image
maya metro

कञ्चनपुर – दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको छ । जिल्लाको वेदकोट नगरपालिका–२ र ३ को वनक्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी भए पनि रुख कटानको काम नहुँदा निर्माण अलपत्र परेको हो ।

छेला औद्योगिक क्षेत्र स्थापनाका लागि झन्डै २५ हजार रुख कटान गर्नुपर्ने वन मन्त्रालयले जनाएको छ । रुख कटानको अनुमति प्राप्त नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम भने अलपत्र परेको वेदकोट नगरपालिका–२ का अध्यक्ष नरेशबहादुर सिंहले बताए ।

nisarga

औद्योगिक क्षेत्र विस्तारका लागि रुख गणनाको कामपछि छपानको काम सकिएको उनले बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पर्ने रुख कटानका लागि रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरिएको बताए ।

नापी कार्यालयले चार किल्ला प्रमाणित गरेर १३६.५९ हेक्टर वनक्षेत्रमा औद्योगिक क्षेत्र विस्तारका लागि यसअघि नै सिफारिस गरिसकेको जनाएको छ ।

सरकारले २०७२ सालमा मा मन्त्रीपरिषद् बैठकले दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । जेनजी आन्दोलनपछि यहाँ औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको वडाध्यक्ष सिंहले बताए । यसका लागि मन्त्रीपरिषद् बैठकले निर्णय गर्नुपर्ने उनले जानकारी दिए ।

पहुँच मार्गमा कालोपत्रे

औद्योगिक क्षेत्र निर्माण अघि बढ्न नसके पनि पहुँच मार्गमा कालोपत्रेको काम भने अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको समपूरक अनुदान र बेदकोट नगरपालिकाको गरी सात करोड लागतमा छेला औद्योगिक क्षेत्रको पहुँच मार्गमा कालोपत्रेको काम भइरहेको वेदकोट नगरप्रमुख भोजराज बोहोराले बताए । हाल ३.५ किलोमिटर कालोपत्रेको काम भइरहेको र बाँकी दुई किलोमिटरमा कालोपत्रेको कामलगत्तै प्रक्रियामा जाने उनले बताए ।

हाल पहुँच मार्ग निर्माण अन्तिम चरणमा रहेको निर्माण व्यवसायी भागेश्वर न्यु उग्रतारा शिव शङ्कर जेभीका सञ्चालक ब्रिज चन्दले बताए । उनका अनुसार हाल ६० प्रतिशत कालोपत्रेको काम सकिएको छ । अबको दुई महिनाभित्रै पहुँच मार्गको काम सकिने उनले बताए ।

पहुँच मार्ग निर्माणले तीव्रता पाए पनि औद्योगिक क्षेत्र विस्तारको काम भने अगाडि नबढ्दा यहाँका स्थानीय निराश छन् । औद्योगिक क्षेत्र निर्माण गरिए १० औँ हजार नागरिकले क्षमता अनुसारको रोजगारी पाउने अपेक्षा गरिएको वडा नं. २ का अध्यक्ष नरेश सिंहले बताए । कञ्चनपुर आउने मन्त्रीहरूलाई यस क्षेत्रको पटक अवलोकन गराए पनि निर्माण अगाडि बढ्न नसकेको उनले बताए ।