
अत्तरिया – कैलालीको अत्तरियामा भोलिदेखि लाग्ने सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ को तयारी पुरा भएको छ ।
आयोजक सृजनशिल युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको सबै तयारी पुरा भएको जनाएको हो ।

क्लबका अध्यक्ष नर बहादुर राईले महोत्सवको सबै तयारी पुरा भएको र भोलि बिहान १० बजे र्याली निकालिने बताएका छन् ।
र्याली पश्चात गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको उद्धघाटन गर्ने कार्यक्रम रहेको राईले बताए ।
पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ ।
अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निशुल्क गरिएको छ ।
क्लबका अध्यक्ष राईले महोत्सव सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो।
विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेकाले क्लबले फेरि सुरु गर्न लागेको हो ।














