
अत्तरिया – कैलालीको अत्तरियामा गत बुधबारदेखि सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ । सृजनशिल युवा क्लबको आयोजनामा अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा सुरु भएको महोत्सवको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका थिए । महोत्सवमा आयोजकले स्थानीय उत्पादनलाई पनि प्रथमिकतामा राखेको छ। महोत्सवमा अल्लोको लुगाहरुको स्टल राखिएको छ ।
गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक दार्चुलाका नरेन्द्र धामीले स्टल नम्बर ९६ मा अल्लोका कोट, टोपी, ब्याग, रुमाल लगायतका सामग्रीहरु बेचिरहेका छन् । करिब दुई दशकदेखि अल्लोको उद्योग सञ्चालन गरिरहेका उनले सुदूरपश्चिमका प्राय महोत्सवमा आफू पुगिरहने बताए । त्यसबाहेक सुर्खेत, नेपागंजका महोत्सवसम्म पनि अल्लोको उत्पादनहरु लगेर जाने गरेको उनले बताए । धामीले अल्लोकै उत्पादनहरु लगेर मलेसिया र भारतको भुपालसम्म पुगेको बताए।


खर्चिलो उत्पादन र उस्तै देखिने नक्कली सामानका कारण बिक्रिमा आफूहरुलाई समस्या हुने गरेको उनको भनाई छ । दार्चुलाकै बाग्मती धामीले पनि अल्लोको लुगासहित निगालोका डोकाहरुको स्टल राखेकी छिन् । आर डी अल्लो ऊन, बाँस कपडा बुनाई उद्योग नामको स्टल नम्बर १०८ मा रहेकी उनले आफूहरुलाई स्थानीय उत्पादन प्रर्वद्धनका लागि दार्चुलाको नवगाड गाउँपालिका र कैलाली उद्योग वाणिज्य संघले समेत सहयोग गरेको बताइन् ।
स्थानीय उत्पादन प्रर्वद्धन गरेबाफत कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव धनगढीमा आफूहरुलाई पुरुस्कृत गरेको उनले बताइन् । त्यस्तै महोत्सव स्थलमा महिला उद्यमी संघ कैलालीले कोदोको सेल, माणा र स्थानीय अचार पस्किरहेको छ । संघकी अध्यक्ष सुनी भण्डारीले स्थानीय उत्पादन र परिकार प्रर्वद्धन गर्ने उदेश्यले कोदोको सेल, माणा र अचारको स्टल राखेको बताइन् । थारु संस्कृति प्रर्दशनी स्थलको छेउमा स्टल नम्बर १ मा उनीहरुले स्थानीय परिकारहरु पस्किरहेका हुन् ।

त्यस्तै थारु क्ला प्रर्दशनी स्थलमा विभिन्न थारु परिकारहरुको स्वाद लिन पाइने छ । त्यस्तै बैतडीका टेक बहादुर कार्कीले स्थानीय उत्पादनहरु बिक्रि गरिरहेका छन् । प्रवेशद्धारको गेट नजिक सुर्दशन कृषि तथा लघु उद्यम फर्ममार्फत उनले लोकल चामल, पिठो लगायतका खाद्यानहरु बेचिरहेका छन् । यसबाहेक महोत्सव स्थलमा विभिन्न प्रकारका सामग्रीहरु किनबेच भइरहेका छन् ।


सुरक्षा व्यवस्था मजबुत
पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार महोत्सव स्थलमा ९० जना सुरक्षाकर्मी खटाइएको छ । ५० जना इन्ट्याक्ट (महोत्सव स्थल भित्र) र ४० जना स्ट्यान्ट बाइ गरी ९० जना सुरक्षाकर्मी खटाइएको प्रहरी निरीक्षक पन्तले बताएका छन् ।

क्यामेरा पर्सनलाई पनि अवसर
महोत्सव स्थलभित्र यसपटक क्यामेरा पर्सनहरुले पनि अवसर पाएका छन् । स्थलभित्र २० जना क्यामेरा पर्सनहरु व्यवसायीकरुपमा फोटो खिचिरहेका छन् । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको फोटो खिचिरहेका कञ्चनपुरका समिर चौधरीले आयोजकलाई निश्चित रकम तिरेर व्यवसायीकरुमा फोटो खिचिरहेको बताए । हिजो एक दिन मात्रै चार हजार आम्दानी भएको उनले बताए । फोटो खिचेर तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा शेयर गरिदिने उनीहरुले प्रति फोटो २० रुपैयाँ लिने गरेका छन्।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती राख्नुका साथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लागिरहेको महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निशुल्क गरिएको छ । महोत्सवमा आज हेमन्त शर्मा, चेतन बोहरा र भुवन दाहाल लगायतले आफ्नो प्रस्तुती राखेका छन् भने भोलि शनीबार र्यापर जी बब, डान्सर आरुसी मगर, गायिका अन्जु कुस्मी, गायक सेरी औजी र जे आर भट्ट लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।















