डीडीसी अत्तरिया र वडा नम्बर- १ को कार्यालयमा तालाबन्दी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीयले डीडीसी अत्तरियाबाट धनगढी सार्न थालिएपछि अवरोध गर्दै डीडीसी र वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।

लामो समय देखि डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै आन्दोलन गरिरहेका स्थानीले एकाएक डीडीडीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै सार्ने काम रोकेका थिए । स्थानीयले डीडीसीका उपकरण सार्नका लागि ल्याइएका क्रेन र ट्रकलाई समेत फिर्ता पठाएका छन् ।

nisarga

स्थानीय तारा देवी महराले आफूहरूले विगत एक वर्ष देखि डीडीसी अत्तरियाबाट सार्न नहुने माग गर्दै सङ्घर्षका कार्यक्रम गरिरहेको भए पनि अहिले आएर एकाएक आफूहरूलाई जानकारी नै नदिएर डीडीसी सार्न थालिएपछि विरोध गरेको बताइन् । उनले डीडीसीलाई अत्तरियाबाट सार्न नदिने बताउँदै डीडीसीको उत्पादन कक्षमा तालाबन्दी गरिएको बताइन् ।

स्थानीय गीता चौधरीले डीडीसीको अत्तरियामा रहेको कार्यालय रातारात सारिएको बताउँदै उद्योगका सामान पनि सार्न थालेको आफूहरूले जानकारी पाएपछि विरोध गरेको बताइन् । स्थानीयले डीडीसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र डीडीसीलाई अत्तरिया रोक्न वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेको भन्दै वडा नम्बर १ को कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष गोपाल दत्त भट्टले भने डीडीसी सार्न नहुने आफूहरूको पनि चाहना रहेको बताउँदै आफूहरूको पनि आन्दोलनमा ऐक्यबद्धता रहेको बताए । उनले डीडीसीको दोहोरो चरित्रका कारण डीडीसी बिस्तारका लाग जग्गा उपलब्ध गराउन नसकिएको बताए । उनले आफूहरूले आवश्यक जग्गा उपलब्ध गराउनको लागि कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नदिएर अहिले सार्ने खोजिएको बताए ।

‘अहिले एक्कासि आएर डीडीसीका जिएमले ४० लाख पैसा र १० बिगाहा जग्गा देऊ नत्र हामी यहाँबाट सार्छौ भनेका रहेछन्’ उनले भने ‘तत्काल दिन सकिँदैन भनेपछि कसैलाई नभेटी गएर अहिले सारिरहेका छन् । अहिले तत्काल किन डीडीसीलाई जग्गा र पैसा चाहियो ।’

गत वर्ष पुस महिनामै डीडीसी धनगढी सार्ने प्रक्रिया अघि बढेको भन्दै स्थानीयले विरोध गर्दै डीडीसीका लागि आवश्यक जग्गा गोदावरीमै उपलब्ध गराउनका लागि कार्यदल गठन गरिएको थियो । गोदावरी नगरपालिका – १ का वडाध्यक्षकै संयोजकत्वमा गठन गरिएको कार्यदललाई डीडीसीका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।