स्याउलेमा उत्तरायणी पर्व मनाइने, खिचडी कार्यक्रमको आयोजना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित स्याउले बजारमा उत्तरायणी पर्व मनाइने भएको छ । स्याउले बजार बजार व्यवस्थापन समितिले माघ ३ गते खिचडी कार्यक्रमको आयोजना गरी उत्तरायणी पर्व मनाउने भएको हो ।

बजारमा रहेको विश्वनाथ महादेव मन्दिर परिसरमा बिहान ११ बजेदेखि मनाइने पर्वमा डेउडा कलाकारहरुको प्रस्तुती पनि रहने भएको छ ।

nisarga

त्यसैगरी खिचडी, बटुक,तरुल,सखरखण्ड,सेल,पुरी लगायतका परिकार पनि पकाइने स्याउले बजार बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए ।

संस्कृतिको संरक्षण गर्ने उदेश्यले खिचडी कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा प्रत्येक माघ महिनाको ३ गते परापूर्वकालदेखि नै मनाउने गरिन्छ ।

पछिल्लो समय पहाडी जिल्लाबाट तराईका जिल्ला कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएकाहरुले पनि यो पर्व मनाउन थालेका छन् ।

पहाडी जिल्लाहरुमा यो पर्वको दिन विवाह भएर गएकी छोरीबहिनीहरुलाई बोलाएर दान दक्षिणा दिएर उत्तरायणी मनाइने डाँडा अर्थात् ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटी पकाएर दिने चलन रहेको छ ।

उत्तरायणीको दिन मानिसहरु रमाउँदै खानाका परिकारहरु मासको बटुक, मासबाट बनेको प्रख्यात दाल डुुप्का, भात, सेलरोटी पकाउँदै सबै एकै ठाउँमा बसेर खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने चलन रहेको छ । यो पर्वलाई मिलन तथा मित्रताको दिनका रूपमा पनि लिने गरिन्छ ।
उत्तरायणीको दिन सुदूरपश्चिमका महिलाहरुले रनपुतला खेल पनि खेल्ने गर्दछन् । महिलाका मार्मिक पीरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला ।

छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिकरूपमा पङ्क्तिवद्ध भएर विवाहित महिलाले वीरहका गीत गाउँदै उत्तरायणीको दिनमा रनपुतला खेल खेल्ने गर्दछन् ।

सिङ्गारिएका महिलाले दिउँसो बेहुलाबेहुलीको एउटा जोडी बनाएर कार्पेटमा बोकेर नजिकैको पँधेरोमा लैजाने चलन छ ।

स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुलाबेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याएर विभिन्न डेउडा, झेउरा र भारी डेउडा खेल खेल्दै रमाउने गर्छन् ।