
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- ७ मा नगरपालिकाले सञ्चालन गरिरहेको गौशालामा ६ टन पशु आहार सहयोग गरिएको छ । आज राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहरभवन, ललितपुरले पशु आहारा सहयोग हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट र प्रमुख प्रशाशकिय अधिकृत धर्मराज विनाडी, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका प्रतिनिधि, गौशालाका संरक्षक यतिराज कँडेल लगायतको उपस्थिति रहेको थियो ।

चिसो र आहारको कमीले चौपायाहरु म्रिरहेको खबर प्राप्त भएपछि पशुहरुको रक्षा, स्वास्थ्य संरक्षण तथा कुपोषण न्यूनीकरणको उद्देश्यले पशु आहार सहयोग गरिएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर आभाश पौडेलले बताए ।
कार्यक्रममा बोल्दै पौडेलले चिसो मौसममा पशुहरू बढी जोखिममा रहने भएकोले समयमै गरिएको आहारा सहयोगले पशुहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत पुग्ने बताए ।
गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गौशालालाई प्रदेश र केन्द्र सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय सरकारले पनि पशु संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।
बजार क्षेत्रमा माटो र प्लास्टिकसमेत खाँदा कमजोर बनेका छाडा गाईबस्तुलाई ठुलो जंगल क्षेत्रमा रोकथाम गर्दा चिसो मौसमका कारण दैनिकजसो गाईबस्तु मर्न थालेपछि केही व्यक्तिहरू आक्रोसित भई गौशालामाथि नै दोषारोपण गरेको उनले गुनासो गरे ।
छाडा चौपाया व्यवस्थापन पछिल्लो समय निकै चुनौतीको विषय रहेको बताउँदै उनले समस्याको समाधानका लागि जनप्रतिनिधिसंगै नागरिक पनि त्यत्तिकै उत्तरदायि हुनुपर्ने उनले बताए ।
त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले संघीय र स्थानीय तहबीचको समन्वयले मात्र यस्ता सामाजिक तथा पशु कल्याणसम्बन्धी समस्या समाधान सम्भव हुने भन्दै आगामी दिनमा व्यवस्थापन, पूर्वाधार र स्रोत परिचालनमा नगरपालिका थप सक्रिय रहने बताए ।
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयले गरेको आहार सहयोगले गौशालामा आश्रित पशुहरूको स्वास्थ्य सुधार हुनुका साथै व्यवस्थापनमा केहि सहज हुने उनले बताए ।













