
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ८ स्थित स्याउले बजारमा उत्तरायणी पर्व मनाइएको छ । स्याउले बजार, बजार व्यवस्थापन समितिले आज खिचडी कार्यक्रमको आयोजना गरी सुदूरपश्चिमेलीहरुको मौलिक पर्व उत्तरायणी पर्व मनाएकोे हो ।
समितिका अध्यक्ष गोपाल देउवाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थ राज्य मन्त्रि प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै अर्थ राज्य मन्त्री बमले मौलिक पर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले सुदूरपश्चिमको हराउँदै गइरहेको संस्कृति जर्गेना हुने बताए ।
आफ्नो संस्कृति बिर्सन नहुने भन्दै उनले सरकारका तर्फबाट गर्नुपर्ने यस्ता कार्यक्रम संघ संस्थाले आयोजना गरेको भन्दै खुसी व्यक्त गरे ।
उत्तरायणीको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागीहरुलाई खिचडी, बटुक,तरुल,सखरखण्ड,सेल,पुरी लगायतका परिकार पनि खुवाइएको थियो ।b
बजारमा रहेको विश्वनाथ महादेव मन्दिर परिसरमा बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा डेउडा कलाकारहरुका साथमा डेउडा खेलिएको थियो ।
कार्यक्रममा बोल्दै स्याउले बजार बजार व्यवस्थापन समितिका अध्यक्ष देउवाले मौलिक संस्कृति जर्गेना गर्ने उदेश्यले उत्तरायणी कार्यक्रमको आयोजना गरिएको बताए ।
आफूहरुले व्यत्ति,व्यक्तिबाट सहयोग उठाएर कार्यक्रम आयोजना गरेको भन्दै उनले सबै सहयोगी दाताप्रति आभार व्यत्त गरे । संस्कृतिको संरक्षण गर्ने उदेश्यले खिचडी कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।
उक्त कार्यक्रममा दुर्गाज्योती माविका विद्यार्थीहरुले पनि आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसका बालबालिका पनि सहभागि भएका थिए ।
व्यवस्थापन समितिको अगुवाइमा कञ्चनपुरको कृष्णपुर- ५ गुलरीयामा रहेको सेती महाकाली कापी उद्योगले सेभ हाउसलाई कापी, कलमसहितका शैक्षिक सामग्री पनि सहयोग गरेको थियो ।
उद्योगका सञ्चालक अर्जुन ठकुराठीले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई शैक्षीक सामग्री हस्तान्तरण गरेका हुन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा प्रत्येक माघ महिनाको ३ गते परापूर्वकालदेखि नै मनाउने गरिन्छ ।
पछिल्लो समय पहाडी जिल्लाबाट तराईका जिल्ला कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएकाहरुले पनि यो पर्व मनाउन थालेका छन् ।
पहाडी जिल्लाहरुमा यो पर्वको दिन विवाह भएर गएकी छोरीबहिनीहरुलाई बोलाएर दान दक्षिणा दिएर उत्तरायणी मनाइने डाँडा अर्थात् ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटी पकाएर दिने चलन रहेको छ ।

उत्तरायणीको दिन मानिसहरु रमाउँदै खानाका परिकारहरु मासको बटुक, मासबाट बनेको प्रख्यात दाल डुुप्का, भात, सेलरोटी पकाउँदै सबै एकै ठाउँमा बसेर खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने चलन रहेको छ । यो पर्वलाई मिलन तथा मित्रताको दिनका रूपमा पनि लिने गरिन्छ ।
उत्तरायणीको दिन सुदूरपश्चिमका महिलाहरुले रनपुतला खेल पनि खेल्ने गर्दछन् । महिलाका मार्मिक पीरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला ।
छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिकरूपमा पङ्क्तिवद्ध भएर विवाहित महिलाले वीरहका गीत गाउँदै उत्तरायणीको दिनमा रनपुतला खेल खेल्ने गर्दछन् ।
सिङ्गारिएका महिलाले दिउँसो बेहुलाबेहुलीको एउटा जोडी बनाएर कार्पेटमा बोकेर नजिकैको पँधेरोमा लैजाने चलन छ । स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुलाबेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याएर विभिन्न डेउडा, झेउरा र भारी डेउडा खेल खेल्दै रमाउने गर्छन् ।














