दुध बेचेरै थारु समुदायको जीवन फेरियो : ट्याक्टरको किस्तादेखि नातिनातिनीको बोर्डिङ खर्चसम्म

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनमा होमिएका छन्। परम्परागत खेतीपातीमा मात्र सीमित रहने यो समुदाय अहिले दुध बिक्रीबाट मनग्य आम्दानी गर्दै आत्मनिर्भर बन्न थालेको छ। दुध बेचेर आएको पैसाले घरखर्च चलाउन मात्र होइन, बैंकको ऋण तिर्न र बालबालिकालाई बोर्डिङ स्कुल पढाउन समेत उनीहरू सक्षम भएका छन्।

शुक्लाफाँटा–२ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत ६ वर्षदेखि व्यावसायिक रूपमा भैँसी पाल्दै आएका छन्। उनी दैनिक ७ लिटर दुध डेरीमा बुझाउँछन्, जसबाट मासिक १४ हजार ७ सय रुपैयाँभन्दा बढी आम्दानी हुन्छ। “पहिले बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौ–धौ पर्थ्यो, अहिले भैँसीको दुधले ठुलो सहारा दिएको छ,” चौधरीले खुसी व्यक्त गरे। उनले भैँसीको सुहारदेखि दुध दुहुनेसम्मका सबै काम आफैँ सम्हाल्दै आएका छन्।

nisarga

भैँसीपालनमा लाग्ने चन्द्रलाल एक्ला होइनन्। वडा नम्बर ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक भैँसीपालनबाट घरको खर्च अभाव टारेको बताए। उनी अहिले अरूलाई सापटी दिन सक्ने अवस्थामा पुगेका छन्। त्यस्तै, सोही वडाका तौला रानाले दुध बेचेरै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेका छन्।

कुनै समय दुध बेच्न हिचकिचाउने थारु समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ। स्थानीय आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार पहिले एक–दुई जना मात्रै दुध लिएर आउने गरेकोमा अहिले ३० जनाभन्दा बढी थारु किसानले नियमित दुध बिक्री गरिरहेका छन्। डेरीले दुधको गुणस्तर अनुसार तुरुन्तै पैसा दिने गरेकाले पनि किसानहरू थप उत्साहित भएका छन्।

व्यावसायिक भैँसीपालनले विपन्न थारु परिवारको जीवनस्तरमा ठुलो सुधार ल्याएको छ। यसले स्थानीय स्तरमा स्वरोजगारको राम्रो उदाहरण मात्र पेश गरेको छैन, समुदायमा बचत गर्ने बानीको समेत विकास गराएको छ।

रासस