थारु मेला–महोत्सवले जोगाउँदै आएको संस्कृति

Image
maya metro

अत्तरिया – माघको महिनालाई नयाँ वर्षकोरुपमा मनाउने रानाथारु समुदायलाई संस्कृतिको धनी समुदाय मानिन्छ ।

घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई पछिल्लो समय थारु समुदायले सांस्कृतिक उत्सव, मेला, महोत्सव र माघी मिलन समारोह आयोजना गरी मनाउन थालेका छन् ।

nisarga

थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान जोगाउने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएका थारु मेला–महोत्सवले स्थानीय स्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मेला –महोत्सवमार्फत रानाथारु समुदायका नाच–गान, भेषभूषा, भाषा, खानपान र परम्परागत सीपहरूलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास भइरहेको छ ।

मेला महोत्सवहरुमा थारु समुदायका सांस्कृतिक झाँकी, परम्परागत नृत्य, लोकगीत तथा स्थानीय उत्पादनहरूको प्रदर्शनीले दर्शकहरूलाई आकर्षित गर्ने गरेको छ ।

त्यो संगै संस्कृति संरक्षण पनि भइरहेको छ भने स्थानीय कलाकार र व्यवसायीलाई समेत प्रोत्साहन गर्ने गरेको छ । १२ वडा रहेको कैलालीको गोदावरी नगरपालिकाका १० वटा वडाहरुमा २८ वटा थारु गाउँहरु रहेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित मजगाउँमा प्रत्येक वर्ष नगर स्तरीय थारु माघ महोत्सवको आयोजना हुँदै आएको छ ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन तथा आधुनीक कृषि प्रर्वद्धनका लागि एकजुट हौँ भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभा र बरघर भलमन्सा गोदावरी नगर समितिले १६ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।

तीनदिने उक्त महोत्सवको गत बुधबार एक समारोहका बिच समापन भयो । त्यस्तै गोदावरी– ७ स्थित हरैयामा शुक्रबारदेखि माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी नगर भलमन्सा (बरघर) समितिले आयोजना गरेको माघी मिलन सांस्कृतिक कार्यक्रम भोलीसम्म चल्नेछ । यो समितिले तीन वर्षदेखि थारु गाउँहरु रहेका छुट्टाछुट्टै ठाउँमा प्रत्येक वर्ष माघि मिलन कार्यक्रम गर्दै आएको छ ।

माघिको अवसर पारेर आयोजना हुने यस्ता कार्यक्रमहरुमा प्रस्तुत गरीने विभिन्न झाँकी तथा नाचहरुले थारू जातिको संस्कार, संस्कृति र सभ्यता चिनाउनुका साथै भावी पिँढीमा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको थारु कल्याणकारीणी सभाका पूर्व अध्यक्ष एवम् केन्द्रिय पार्षद माधव चौधरी बताउँछन् ।

मजगाउँमा प्रत्येक वर्ष लाग्ने महोत्सवमा मगौटा, सखिया, झुम्रा, दिन नचुवा, रानाथारु होरी, मङ्ग्रहवा, वैठकी लगायतका नाचहरु प्रस्तुत हुने गर्दछन् ।

यि नाचहरु पछिल्लो पुस्ताले बिर्सिदै गएको भएपनि विभिन्न समयमा आयोजना हुने मेला महोत्सवहरुले संस्कृति जोगाउन र पुस्तान्तरण गर्न भूमिका खेलिरहेका छन् ।

२०६७ सालमा पहिलोपटक माघ विशेष कार्यक्रम आयोजना गर्दा थारु नाचसहितको झाँकी पाउनै मुस्किल हुनेमा अचेल प्रत्येक गाउँबाट कम्तिमा दुईवटा झाँकी आउने गरेको चौधरीको अनुभव छ ।

महोत्सवमा थारु परिकारहरु पनि उपलब्ध हुन्छन् । आधुनिक परिकारको स्वादमा थारु परिकारहरु हराउँदै गएको मजगाउँ थारु सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना चौधरीले बताइन् ।

संस्कृतिसंगै परिकारहरु संरक्षण र प्रर्दशन गर्ने थलो समेत थारु महोत्सव बन्दै गएको उनको भनाई छ । आफूहरुले महोत्सवसंगै सञ्चालन गरेको होमस्टेमा पनि थारु परिकारलाई प्राथमिकतामा राखेको चौधरीले बताइन् ।

‘थारू परिकार ढिक्री, घोङ्गी, गङ्गटा, मुसा, अन्धी चामलको भात, माछा र मासुका अन्य परिकारसंगै जाँडको झोल पनि यहाँ पाइन्छ।, उनले भनिन् ।’

आधुनिकताको प्रभावले लोप हुँदै जान लागेको थारु संस्कृतिलाई जगेर्ना गर्न यस्ता मेला–महोत्सव आवश्यक रहेको गोदावरी नगर भलमन्सा (बरघर) समितिका अध्यक्ष मान बहादुर चौधरीको भनाई छ ।

यस प्रकारका कार्यक्रमले सांस्कृतिक एकता मजबुत बनाउनुका साथै समुदायको पहिचानलाई राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पु¥याउने उनको विश्वास छ ।

रानाथारु समुदाय संस्कृतिको धनी समुदाय भएको थारु अगुवा बल बहादुर चौधरी बताउँछन् । राना थारुहरुकै संस्कृति देश विदेशमा बेचेर कतिपयले मनग्य आम्दानी समेत गरिरहेको उनको भनाई छ ।

संस्कृति संरक्षणका लागि यस्ता कार्यक्रमहरु आवश्यक रहेको उनको भनाई छ ।