
धनगढी – कैलाली र कञ्चनपुरका केही राष्ट्रिय तथा सामुदायिक वनमा लामो समयदेखि देखिएको सीमा विवाद समाधानका लागि डिभिजन वन कार्यालय धनगढीले पहल थालेको छ। विवाद समाधान नभएसम्म विवादित वन क्षेत्रमा काठ–दाउरा सङ्कलन, ढुवानीलगायतका सम्पूर्ण गतिविधि तत्कालका लागि रोकिएको छ।
विवादित वन क्षेत्रमा कुनै पनि किसिमको अनियमितता हुन नदिन तथा सीमा विवादलाई यथाशीघ्र स्थायी रूपमा समाधान गर्ने उद्देश्यले तत्कालका लागि वन क्षेत्रमा हुने गतिविधि रोकिएको डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरले बताए।

गोदावरी नगरपालिका–१० मा रहेको धाइया बेलानी सामुदायिक वन, गोदावरी नगरपालिका–१२ मा रहेको ग्वासी समैजी सामुदायिक वन र सोही वडाको सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानिय बासिन्दा बिच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ।
विवाद समाधानका लागि डिभिजन वन कार्यालय धनगढीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय कञ्चनपुर, गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिकालाई समेत पत्राचार गरेको छ।
त्यसैगरी, केलागाड–धौलेपानी राष्ट्रिय वनमा गत आर्थिक वर्षमा भएको काठ–दाउरा सङ्कलनसम्बन्धी सम्पूर्ण सक्कल फाइल थप आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको कार्यालयले जनाएको छ।
सीमा विवाद रहेका वन क्षेत्रमा स्थानीयसँग समन्वय नगरी वन कार्ययोजनामा क्षेत्रफल विस्तार गरिएको विषयसमेत उठेको छ। सब–डिभिजन वन कार्यालय गोदावरीमा कार्यरत वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहोराको कार्यकालमा यस्तो विषय देखिएको भन्दै अब दुवै पक्षसँग समन्वय र सहकार्य गरी सम्बन्धित वनको कार्ययोजना संशोधन गरिने वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरले बताए।
वन क्षेत्रमा देखिएको विवादपछि सब–डिभिजन वन कार्यालय गोदावरीमा कार्यरत वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहोरालाई सब–डिभिजन वन कार्यालय उदासीपुरमा सरुवा गरिएको छ। उनको स्थानमा वन अधिकृत चन्द्रबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।














