
कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लालझाँडी गाउँपालिका–६ ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीय बालिका रोजिना साउदको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गए राती २ः३० बजेको समयमा ढक्का चनादेवका स्थानीय किसन सिंह साउदको घरमा हात्तीले आक्रमण गरेको थियो ।
घरबाट भाग्ने क्रममा साउँदकि ५५ वर्षीय आमा पार्वती साउद र उनकी ६ वर्षीय छोरी रोजिनामाथि हात्तीले आक्रमण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि टिएण्डी अस्पताल झलारीमा लगिएको थियो ।
तर अवस्था गम्भीर भएपछि राति नै थप उपचारका लागि धनगढी लगिएकोमा आज बिहान ६ वर्षीय बालिका रोजिनाको नवजीवन अस्पतालमा उपचारका क्रममा निधन भएको प्रनाउ बोहराले बताए ।
उनकी ५५ वर्षीय आमाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । निकुञ्ज भएर बस्तीमा प्रवेश गरेको हात्तीको आतङ्कले यहाँका स्थानीयहरू आजित बनेका छन् ।















