
अत्तरिया – कैलालीको अत्तरियामा भोलि माघ २६ गतेदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।
महिला तथा बालबालिका सेभ हाउस अत्तरियाको आयोजनामा हुन लागेको महायज्ञको पहिलो दिन कलश यात्रा निकालिने छ भने सोही दिन औपचारिक उद्घाटन पनि गरिने आयोजकले जनाएको छ।

सेभ हाउसकी अध्यक्ष जानकी मलासीका अनुसार महायज्ञका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनका अनुसार माघ २६ गते कलश यात्रा निकालेर महायज्ञको शुभारम्भ गरिनेछ।
महायज्ञका लागि आवश्यक धार्मिक तथा भौतिक संरचना निर्माणको कार्यसमेत सम्पन्न भइसकेको आयोजकले जनाएको छ।
फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत सेभ हाउसमा आश्रित बालबालिकाको पालन–पोषणका लागि अक्षय कोष स्थापना गरिने सेभ हाउसका संरक्षक डा. नरबहादुर मौनीले जानकारी दिए।
महायज्ञमा चर्चित कथा वाचिका सुमि मानवसहितको समूहले कथा प्रवचन गर्नेछ भने मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन् ।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध, विवाहलगायत विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।














