
दार्चुला – दार्चुलाकाे शैल्यशिखर नगरपालिका-८ देबलमा ७१ वर्षीया लक्ष्मी जाेशीकाे हत्या घटनामा प्रहरीले सफलता हात पारेकाे छ ।
साेमबार राति घरमै मृत फेला परेकी जाेशीकाे हत्या गरेर गरगहना लुटपाट गरेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गाेपाल नाथ रहेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।
संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वमा खटिएको टाेलीले घटनाको सफल अनुसन्धान गरेकाे हाे ।
उनकाअनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनकाे सहयाेगीका रूपमा काम गर्थे । मृतक जाेशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै याेजनामा जाेशीकाे हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ ।
डीआईजी रानाकाअनुसार उनीहरूले जाेशीकाे हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई ताेला बराबरका गरगहना बरामद गरिएका छन् ।
उनीहरू मध्ये साउद चाेरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भाेगेका थिए ।
उनीहरू लागूऔषध दुर्व्यशनीमा समेत संलग्न रहेको खुलेकाे प्रहरीले जनाएको छ । बयानका क्रममा दुवै जनाले अभियाेग स्वीकार गरेका छन्। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेकाे छ ।















