जेनजी आन्दोलनबाट केहि व्यक्तिको स्वार्थ मात्रै पुरा भयो : राजेश पोर्तेल

Image
maya metro

अत्तरिया – उज्यालो नेपाल पार्टीका उपाध्यक्ष, जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलले जेनजी आन्दोलनबाट केहि व्यक्तिको स्वार्थ मात्रै पुरा भएको बताएका छन् ।

उज्यालो नेपाल पार्टीले आज कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै पोर्तेलले जेनजी आन्दोलनबाट केहि व्यक्तिको स्वार्थ मात्रै पुरा भएको तर जेनजीका कुनै पनि माग पुरा नभएको बताएका हुन् ।

nisarga

युवाहरु सडकमा उत्रिदा केहि परिवर्तन हुन्छ भने मेरो पनि जिम्मेवारी हो भनेर आफू सडकमा उत्रिएको तर उपलब्धी भने केहि पनि नभएको उनको भनाई छ ।

‘युवाहरु सडकमा उत्रेर भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा रोजगारी र सुशासन माग गर्दा मुलुकमा केहि परिवर्तन हुन्छ भने युवा भएको नाताले मेरो पनि जिम्मेवारी हो भनेरसडकमा गएको थिए तर जेनजीका मागहरु केहि पनि पुरा भएनन् , उनले भने, दुर्भाग्यबस न मुलुकमा सुशासन कायम भो, न ति तमाम भ्रष्टाचारीहरुलाई कारबाहि भो, होलान् कसैका मन्त्रि हुने सपनाहरु ६ महिनाका लागि पनि पुरा भए तर हामीजस्ता निश्वार्थ भावना भएका व्यक्तिहरु आजसम्म पनि निरन्तर सडकमै खटिरहेका छौँ ।’

देशको नेतृत्व गर्ने व्यक्तिहरु गलत भएका कारण दैनिक हजारौँ युवाहरु विदेशिनु परेको उनले बताए । चुनावमा ठुलाठुला सपना देखाउनेहरुले जित्ने र इमान्दार अनि निष्ठापूर्वक काम गर्ने व्यत्तिहरु जहिले छाँयामा पर्ने गरेको उनको भनाई छ ।

पुराना भ्रष्टाचारीहरुलाई फालेर नयाँ भ्रष्टाचारीहरुलाई त्यो ठाउँसम्म पुर्याउन जेनजी आन्दोलन नभएको उनले स्पष्ट पारे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै उनले पार्टी सभापति नै विभिन्न भ्रष्टाचारमा मुछिएका, आफूलाई नयाँ र वैकल्पिक शत्ति भन्नेहरुको पछिल्लो समय लहर चलेको र त्यस्तो लहर र भिडभाडको पछि हिड्नु अगाडि एकपटक सोच्नुपर्ने बताए ।

देशमा अबको नेतृत्व गर्ने व्यक्ति काम गरेर आफूले आफूलाई प्रमाणित गरेको व्यक्ति हुनुपर्ने उनले बताए । जेनजी आन्दोलनपछि विभिन्न मन्त्रालय सम्हालेका व्यक्तिहरुले एउटा पनि राम्रो परिणाम निकाल्न नसकेको पोर्तेलले बताए ।

जेनजीले सर्मथन गरेको पार्टी उज्यालो नेपाल पार्टी नै भएको उनले जिकिर गरे । पछिल्लो समयम केहि ३५/३६ वर्षका व्यक्तिहरुले समेत आफू जेनजी भएको भ्रम छरेर निर्वाचनमा गएको तर साँचो जेनजीको पार्टी उज्यालो नेपाल पार्टी नै भएको उनले बताए ।

भदौ २३ र २४ अब नदोहोरियोस भन्नका लागि विवेक पर्याएर मत दिन पनि उनले आग्रह गरे । उज्यालो नेपाल पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार रहेका उनले आफूले जितेमा भ्रष्टाचारविरुद्ध, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न सडकमा गुन्जेका आवाजहरु सदनसम्म पुर्याउने वाचा गरे । अत्तरियामा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ आउने भनिएको भएपनि उनी भने उपस्थित भएनन् ।