
धनगढी – कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुर नजिक होली मनाउने क्रममा दुई समूहबीच झडप भएको छ । झडपमा प्रहरीसहित तीन जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजेको समयमा होली खेल्ने क्रममा दुई पक्षबीच बादविवाद भएपछि झै–झगडा सुरु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुरको मतदान स्थलमा खटिएको प्रहरी टोली तथा धनगढीबाट थप प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले झै–झगडा गर्ने व्यक्तिहरूलाई सम्झाइ–बुझाइ गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका बेला करिब २०० देखि २५० जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ। ढुंगामुढाबाट प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद घाइते भएका छन् भने जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुखले प्रयोग गर्ने बीएअसी ३४८० नम्बरको प्रहरी भ्यानको अगाडिको सिसा र बाँया साइडको झ्याल तोडफोड गरिएको छ।
स्थिति थप तनावग्रस्त बन्दै गएपछि भीड नियन्त्रणमा लिन प्रहरीले टाइप–७७ पेस्तोलबाट ६ राउन्ड हवाई फायर गरेको जनाइएको छ। घटनामा प्रहरी निरीक्षक बलराम पाण्डेय, प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद तथा स्थानीय युवक लोकेश खत्री घाइते भएका छन्।
घाइते तीनै जनालाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी उप–महानगरपालिका–१३ बस्ने रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासगित १२ लाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।















