
अत्तरिया – बिहीबार (भोलि) हुने मतदानका लागि कैलाली- ४ का सबै मतदान स्थलहरुमा मतदान केन्द्र निर्माणको काम सकिएको छ।
सबै मतदान केन्द्रमा डोरी टाङ्ने, बुथ बनाउने लगायतका कामहरू सम्पन्न भएको कैलाली क्षेत्र नम्बर- ४ का मुख्य निर्वाचन अधिकृत हरि प्रसाद आर्चायले बताएका छन्।
मतदान केन्द्रमा बाँसका ब्यारिकेडहरू निर्माण गरिएका छन्, जसले मतदाताहरूलाई लाइनमा बसेर मतदान गर्न सहज बनाउनेछ।

यसका साथै मतगणना स्थलमा पनि ५ फिटको तारजाली लगाएर गणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत आर्चायले बताएका छन्।
गेटा मेडिकल विश्वविद्यालयको उत्तर पूर्वको भवनमा रहेको मतदान अधिकृतको कार्यालयमा मतगणनाको व्यवस्था मिलाइएको छ।
मतगणना स्थलमा सुरक्षाका लागि सीसीटिभी क्यामेरासमेत जडान गरिएको आर्चायले बताएका छन्।

यस क्षेत्रमा ५६ हजार ४ सय ६ पुरुष, ५८ हजार ७ सय ३६ महिला र १ अन्यको संख्या गरी कुल १ लाख १५ हजार १ सय ४३ मतदाता संख्या रहेको निर्वाचन आयोग नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गतको मतदान केन्द्रको विवरणमा उल्लेख रहेको छ।
तीन ओटा पालिका र एक पालिकाको एउटा वडा रहेको क्षेत्र नम्बर ४ मा गोदावरी नगरपालिकामा सबैभन्दा बढी ५९ हजार बढी मतदाता रहेका छन्।

१२ ओटा वडाहरु रहेको गोदावरी नगरपालिकामा ५९ हजार १ सय ३९ मतदाताहरु रहेका छन् । त्यस्तै ११ ओटा वडाहरु रहेको गौरीगंगा नगरपालिकामा ४१ हजार ९ सय ५० मतदाता रहेका छन्।
६ ओटा वडाहरु रहेको चुरे गाउँपालिकामा १२ हजार ५ सय ५२ मतदाताहरु रहेका छन् भने मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा १ हजार ५ सय २ मतदाताहरु रहेका मतदान केन्द्रको विवरणमा उल्लेख रहेको छ।

५७ वटा मतदान स्थल रहेको क्षेत्र नम्बर ४ मा कुल मतदान केन्द्र १३६ वटा रहेका छन् भने गोदावरीको वनदेवी मन्दिरमा एउटा अस्थाई मतदान केन्द्र निर्माण गरिएको छ।
गोदावरी नगरपालिकामा २४ ओटा मतदान स्थल रहेको छ भने ६९ ओटा मतदान केन्द्र तोकिएको छ। गौरीगंगा नगरपालिकामा १७ ओटा मतदान स्थल रहेको छ भने ४५ ओटा मतदान केन्द्रहरु तोकिएको छ।

यस्तै चुरे गाउँपालिकामा १४ ओटा मतदान स्थल रहेका छन् भने २० ओटा मतदान केन्द्र तोकिएको छ।
क्षेत्र नम्बर ४ मा रहेको मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा २/२ ओटा मतदान स्थल र मतदान केन्द्र तोकिएको छ।
निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
















