
अत्तरिया – कैलालीमा यस वर्ष आँप ढकमक्क फूलेका छन् । आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त फूल लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् ।
कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेक बहादुर विष्टका अनुसार जिल्लामा करिब ९५० हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको विष्टले बताए ।

उनका अनुसार आँप प्रायः एक वर्ष विराएर फल्ने भएकाले यसवर्ष फल्ने चक्र परेको उनको भनाई छ । व्यवसायीक रुपमा आँप खेती गर्दै आएका किसानहरुलाई आवश्यक प्राविधिक सहयोग प्रदान गर्नुका साथै किराको प्रकोप नियन्त्रण गर्न विषादी निशुल्क प्रदान गरिँदै आएको उनले बताए ।
“आँपका बोटमा राम्रो मञ्जरी देखिएको छ । यसवर्ष उत्पादन बढ्ने सङ्केत देखिएको छ । मञ्जरी जोगाउन किसानलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेका छौँ,” उनले भने ।
कैलालीको तल्लो पूर्वी क्षेत्र जानकी गाँउपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका , जोशीपुर गाँउपालिका लगायतका क्षेत्रमा आँप बढी उत्पादन हुने गरेको विष्टले बताए ।
उनका अनुसार कैलालीमा मागको २५ प्रतिशत आँप मात्रै उत्पादन हुने गरेको छ भने ७५ प्रतिशत भने भारतबाटै आयात हुने गरेको छ । धनगढी उपमहानगरपालिका-१३ का किसान शक्ति राईले यसवर्ष फूल राम्रो लागेकोले आँपबाट राम्रो उत्पादन हुने अपेक्षा रहेको बताए ।
७ विघा जमिनमा आँप खेती गर्दै आएका उनले भने, “बगैँचामा यसवर्ष फूल राम्रो लागेको छ । हावाहुरीबाट जोगियो ,मौसम अनुकूल रह्यो भने उत्पादन राम्रो हुने आशा गरेको छु ।”
आफूले विषादीरहित आँप उत्पादन गर्दै आइरहेको र बजार राम्रो रहेको राईले बताए ।














