
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा भोलिदेखि नगर स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तिर्ण परीक्षा सुरु हुँदै छ । आधारभूत तह अन्तरगत कक्षा ५ र ८ को परीक्षा भोलि बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएको हो ।
चैत्र १२ गतेसम्म सञ्चालन हुने परीक्षामा कक्षा ५ मा नगरका ५० वटा सामुदायिक र ३२ वटा संस्थागत विद्यालयका २ हजार ६७१ जना विद्यार्थी सहभागि हुन लागेको गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताएका छन् ।

संस्थागततर्फ ६३८ जना छात्रा र ९३० जना छात्र गरी १ हजार ५६८ जना तथा सामुदायिकतर्फ ५९६ जना छात्रा र ५०७ जना छात्र गरी २ हजार ६७१ जना कक्षा ५ को परीक्षामा सहभागि हुन लागेका हुन् ।
त्यसैगरी ८ कक्षामा ३२ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालयका ३ हजार १३९ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । सामुदायिक विद्यालयका ८३२ छात्र र १ हजार १५३ छात्रा गरी १ हजार ९४५ जना र संस्थागत विद्यालयका ७४७ छात्र र ४४७ छात्रा गरी जम्मा १ हजार १९४ जना विद्यार्थी सहभागी हुने बताइएको छ ।
यसरी कक्षा ८ र ५ का जम्मा ५ हजार ८१० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुुन् । परीक्षा केन्द्रलाई मर्यादित र व्यवस्थित बनाउनको लागि नगर शिक्षा समिति र परिक्षा व्यवस्थापन तथा सञ्चालन समिति, प्रमुख प्रशासकिय अधिकृत र जनप्रतिनिधिले अनुगमन गर्ने व्यवस्था मिलाइएको शाखा प्रमुख जोशीले बताए ।
परीक्षा सञ्चालनको लागि जम्मा १४ वटा केन्द्र तोकिएको छ जसमध्य भौगोलिक विकटताका कारण तीनवटा विद्यालयमा गृहकेन्द्र तोकिएको छ । गृहकेन्द्रमा केन्द्राध्यक्ष र नीरीक्षक बाहिरबाट पठाइने जोशीले बताए ।
प्रति २६ जना विद्यार्थी बराबर एक निरीक्षकको व्यवस्था गरिएको उनले बताए । परिक्षाको सम्पूर्ण तयारी पुरा भएको भन्दै कापी परीक्षण, नतिजा प्रकाशन र ग्रेड वृद्धी परीक्षा सञ्चालनका लागि पनि व्यवस्थापन भइरहेको उनले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ले आधारभूत तहको परीक्षा सञ्चालन,नतिजा प्रकाशनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै दिएको छ ।















