साइकल मर्मतबाट आत्मनिर्भर बनेकी राधिका(भिडियो)

Image
maya metro

अत्तरिया – हातमा सिप भएर पनि विभिन्न बाहना गर्दै बेरोजगार बसेकाहरु थुप्रै छन् । तर कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ जोनापुरकी राधिका चौधरीले भने त्यसो गरिनन् ।

आफ्नो नजिकको बजारमा साइकल मर्मत गर्ने पसलको कमी देखेकी उनले सोहि सिप सिकिन् र तुरुन्तै काम सुरु गरिन् । गत भदौमा गोदावरी ८ को स्याउलेबजारमा राधिका साइकल मर्मत सेन्टर सञ्चालन गरी उनी व्यवसायीक बनिन् । अचेल उनलाई श्रीमान राजेशले पनि साथ दिँदै आएका छन् ।

nisarga

राधिकाले मुक्त विकास मञ्च नामक गैर सरकारी संस्थाको सहयोगमा साइकल मर्मतको सिप सिकेकी हुन् । सो संस्थाले राधिकालाई साइकल मर्मत गर्न आवश्यक पर्ने केहि औजारहरु पनि खरिद गरिदिएको उनले बताइन् ।

उनले साइकल मर्मत सेन्टर सञ्चालन गर्नुअधि श्रीमान राजेशले गाउँमा उपलब्ध भएअनुसारको ज्यालादारी काम गर्दै आएका थिए । तर अचेल प्राय दुवैजना साइकल पसलमै व्यस्त हुने गरेको राधिकाको भनाई छ ।

बजारबाट करिब ४ किलोमिटर टाढाको गाउँबाट साइकल मर्मतका आउँदा एउटै पसल, त्यो पनि बन्द देखेपछि आफूलाई साइकल मर्मत सेन्टर सञ्चालनमा ल्याउनुपर्ने सोच आएको उनले बताइन् ।

“एकदिन साइकल बनाउन आए, एउटै पसल थियो त्यो पनि बन्द रहेछ । त्यसै दुख पाइयो, उनले भनिन्, त्यसपछि बजारमा एउटा साइकल मर्मत सेन्टर सञ्चालन गर्छु भन्ने लाग्यो र सिप सिक्न खोजे, संस्थाले सिकाइदियो । अहिले आफैले साइकल मर्मत सेन्टर खोलेर चलाइरहेकी छु । राम्रो चलिरहेको छ ।”

साइकल मर्मत सेन्टर सञ्चालन गरेर श्रीमानश्रीमती संगै काम गर्न पाउँदा खुसी लागेको उनले बताइन् । काम गर्न थालेदेखि अरुलाई खर्च मागीरहनु नपरेको राधिका बताउँछिन् । साइकल मर्मत गर्ने काममा प्राय ठाउँमा पुरुषहरु मात्रै हुने भएकोले आफूकहाँ सेवाग्राही आउन हिचकिचाउने गरेको आफूलाई महसुस हुने गरेको उनको भनाई छ ।

“साइकल बनाउन भनेर आउँछन् मलाई देखेपछि ए.. महिलाले पनि बनाउँछन् र भन्छन्, कोहिकोहि त फर्केर जान्छन् उनले भनिन्,तर साइकल राम्रोसंग बनाइदिएको भन्दै दोहोरिएर आउने ग्राहकहरु मेरा धेरै छन् ।”

साइकल बनाउँदा मिहिनेत धेरै लाग्ने तर त्यसको तुलमा पैसा थोरै आउने उनको अनुभव छ । गेयर भएका साइकल मर्मतका लागि पनि ग्राहक आउने भएकोले आफूलाई त्यो सिप आवश्यक परिरहेको राधिकाले बताइन् ।

आफ्नै योजनाले साइकल मर्मत सेन्टर सञ्चालन गरेर आत्मनिर्भर बन्न पाउँदा खुसी लागेको उनी बताउँछिन् ।