
अत्तरिया – यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसइई) आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार एसइई परीक्षा बिहान ८ बजेदेखि सुरु भएर ११ बजेसम्म सञ्चालन हुने भएको हो । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
एसइईमा कैलालीबाट १८ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले बताएका छन् । उनका अनुसार कैलालीमा ९ हजार ६०५ छात्रा र ८ हजार ७५९ छात्र गरी १८ हजार ३ सय ६४ जना परीक्षामा सहभागी हुन लागेका हुन् ।

चैत २९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षाका लागि जिल्लामा ५५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ज्ञवालीका अनुसार प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती गर्ने, केन्द्र तय गर्ने र उत्तर पुस्तिकाहरू सम्बन्धित परीक्षा केन्द्रमा पठाउने लगायतका सबै कार्य यसअघि नै सम्पन्न भइसकेका छन् ।
प्रश्नपत्रहरु सम्बन्धित इलाका प्रहरी कार्यालयमा पुगिसकेका छन् । २०८१ सालको एसइई परीक्षामा जिल्लाबाट १८ हजार ७५१ विद्यार्थी सहभागी भएकोमा ७ हजार ५२३ विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका थिए । जुन कुल ग्रेडेड विद्यार्थीको ४० प्रतिशत हो । शिक्षा तथा समन्वय इकाई कार्यालय कैलालीका अनुसार कैलालीबाट एसइई दिएका मध्ये ७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका थिए ।
जसमध्ये १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहेका थिए । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका देशभरका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तर पुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।
उत्तर पुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाईमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाईलाई नै निर्णय गर्ने अधिकार दिइएको बोर्डले जनाएको छ । परीक्षा सकिएको ३ दिनभित्र परीक्षण सक्ने पनि बोर्डले जनाएको छ । उत्तर पुस्तिका परीक्षण सकिएपछि इकाईले विद्यार्थीको प्राप्ताङ्क बोर्डमा पठाउने निर्णय गरिएको छ ।
त्यसपछि विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गरेर नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय भएको पनि बोर्डले गरेको छ । उक्त कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ । ढुक्कसँग परीक्षामा सहभागी विद्यार्थीहरूलाई हुन बोर्डले अनुरोध गरेको छ ।














