
अत्तरिया – कैलालीको चौकीडाँडा फल्टुडे सडकखण्ड स्थानीयले बन्द गरेका छन् । समयमा सडक निर्माण नहुँदा धुलोले सास्ती खेप्नु परेको भन्दै गोदावरी-३ स्थित मालाखेतीमा स्थानीयले सडकमा ढुंगामुँढा राखेर अवरुद्ध गरेका हुन् । लामो समयदेखि सडक अलपत्र परेपछि धुलोले आक्रान्त हुँदा सडक अवागमन बन्द गर्नुपरेको स्थानीय नन्दकृष्ण जोशीले बताए ।
चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण आफूहरुले सास्ती खेप्नु परिरहेको उनले बताए । धुलो र धुँवाका कारण स्थानीयको जनस्वास्थ्यमा समेत प्रत्यक्ष असर परिरहेको उनले बताए । सडक कालोपत्रेकालागि पटकपटक ठेकेदारसंग माग गर्दा पनि सुनुवाइ नभएको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले बताए ।

अन्तिम विकल्पकारुपमा सडक बन्द गरेको भन्दै स्थानीयको उक्त कार्यमा आफ्नो सर्मथन रहेको वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु)ले बताए । यसअघि गत भदौमा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण कार्य छ वर्षदेखि अघि नबढेपछि वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले सडकबाटै कार्यालय सञ्चालन गरेर विरोध जनाएका थिए । ठेकेदारले गरेको ढिलासुस्ती र लापरबाही विरुद्ध वडा अध्यक्षहरुसमेतको सहभागितामा अत्तरिया चोकमा विरोध ¥याली पनि निकालिएको थियो ।
त्यसपछि बाध्य भएर ठेकेदारले पूर्वाधार विकास कार्यालय कैलालीमा २०८२ चैत्र १५ गतेसम्म कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेका थिए । तर हालसम्म काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम ठेकेदारको लापरबाहीका कारण सुस्त छ ।


भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्ण मन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अढाइ किलोमिटर सडक निर्माणका लागि विसं २०७७ भदौ १८ मा एडभेञ्चर थिगिम जेभीसँग पाँच करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटक पटक म्याद थप गरिए पनि काम हुन सकेको छैन ।
छ वर्ष बितिसक्दा पनि सडक निर्माणमा ढिलाइ भएपछि यातायातका साधन सञ्चालन र दैनिक आवागमनमा कठिनाइ भइरहेको स्थानीयको भनाई छ । पूर्वाधार कार्यालय धनगढीले उक्त सडक निर्माणको काम सम्पन्न नहुँदै चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत थप तीन किलोमिटर सडक कालोपत्रका ठेक्का गरेको थियो । यो सडक निर्माणका लागि विसं २०७९ चैत १८ मा १८ महिनामा काम सक्ने गरी तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख रुपैयाँ भ्याटबाहेक ठेक्का सम्झौता भएको थियो । कामले गति लिन नसकेपछि स्थानीय आक्रोशित छन् । गोदावरी नगरपालिकाको वडा नं १०, ११ र १२ मा २० हजारभन्दा बढी मानिसको बसोबास रहेको छ ।















