
अत्तरिया – लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले लापसे जाँच अभियान सञ्चालन गरेको हो ।
सोही क्रममा आज मात्रै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियामा प्रहरीले लापसे जाँच गरेको छ । प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा लामो, छोटो तथा मध्यम दुरीका सवारी चलाउने २३ जना चालकमाथि परीक्षण गरेको हो । आज जाँच गरिएका सबैमा लापसे नेगेटिभ देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम प्रसाद आर्चायले चालकमा सचेतना बढाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले लापसे जाँच गरिएको बताए । यस्तो कार्यले चालक सचेत हुने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ ।
“यसले चालकमा सचेतना बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ”, प्रहरी निरीक्षक आर्चायले भने, “यस कार्यले कारबाहीसँगै सडक सुरक्षाबारे सचेतना फैलाउने कार्य पनि प्रहरीले गर्दै आइरहेको उनले बताए ।” राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न र लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी १५ /१५ दिनमा पनि लापसे तथा मापसे जाँच अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ ।
ट्राफिक प्रहरीको उक्त कार्यको लामो दुरीका सार्वजनिक सवारी चालकहरुले स्वागत गरेका छन् । धनगढी-काठमाडौं रात्री बसका चालक राम बहादुर डाँगी राजनले आफूहरुले लामो समयदेखि लामो दुरीका सवारी चालकमाथि पनि लापसे तथा मापसे जाँच हुनुपर्ने माग राख्दै आएको बताए । उक्त माग आज ट्राफिक प्रहरीले पुरा गरेकोमा उनले धन्यवाद व्यक्त गरे । यो कार्यलाई निरन्तरता दिनुपर्ने डाँगीको भनाई छ ।
लागूपदार्थ सेवन गरेका चालकको स्नायु प्रणालीमा असर पर्ने, निर्णय क्षमता कमजोर हुने, प्रतिक्रिया समय ढिलो हुने र दृष्टिमा भ्रम हुने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने प्रहरीको भनाई छ ।
लापसे जाँचका लागि प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गर्ने गरेको छ । यस प्रविधिमा चालकको ¥यालको नमुना सङ्कलन गरी परीक्षण गरिन्छ। जसबाट चालकले लागूपदार्थ सेवन गरेको वा नगरेको तत्कालै थाहा हुन्छ। सेवन गरेको पुष्टि भएमा लागूऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइँदै आएको छ ।
















