
कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ ज्यान सम्बन्धी गम्भीर आरोपमा पक्राउ परेकी छन्।
नाथविरूद्व दर्ता भएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान अघि बढाएको हो।

मृतक हरकिशन रानाकी पत्नी फिरिया देवी रानाले दिएको जाहेरीमा नाथमाथि योजनाबद्ध रूपमा धम्की दिने, आर्थिक लेनदेनमा दबाब सिर्जना गर्ने र अन्ततः ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ। जाहेरी अनुसार, कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल गर्ने प्रयास गरिएको र रकम नदिएपछि निरन्तर ज्यान मार्ने धम्की दिइएको उल्लेख छ।
पीडित परिवारका अनुसार ४० लाख रुपैयाँको अनुदान प्रक्रियामा संलग्न गराएर मृतकबाट करिब ४७–४८ लाख रुपैयाँ खर्च गराइएको थियो। पछि १२ लाख रुपैयाँ चेक र थप ४ लाख नगद माग गरिएको तर रकम दिन नसक्दा धम्की तीव्र भएको दाबी गरिएको छ।
९ वैशाख २०८२ मा बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल आर्यघाट नजिक हरकिशन रानाको शव जलेको अवस्थामा फेला परेको थियो। घटनास्थलमै मोटरसाइकल समेत जलेको अवस्थामा भेटिएको थियो। परिवारले यसलाई सुनियोजित हत्या भएको दाबी गरेको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी सर्जमिन मुचुल्का, सेती प्रादेशिक अस्पतालको शव परीक्षण प्रतिवेदन लगायतका प्रमाण संकलन गरी अनुसन्धान अघि बढाइएको छ। चेक प्रकरणमा अन्य व्यक्तिको संलग्नता रहेको आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ।

















