अनलाइन गेममार्फत ठगी गर्ने गोदावरीका एक युवक पक्राउ

Image
maya metro

धनगढी – अनलाइन गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार अनलाइनमार्फत गेम खेलाएर रकम ठगी गरेको आरोपमा भाटलाई पक्राउ गरिएको हो।

nisarga

कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा अनलाइन गेममार्फत ठगी गरिएको रकम भाटको खातामार्फत कारोबार भएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी शाहीले जानकारी दिए।

यस घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।

प्रहरीका अनुसार उक्त गिरोहले लामो समयदेखि फेसबुकमार्फत आकर्षक अफर देखाई सर्वसाधारणलाई प्रलोभनमा पार्दै ठगी गर्दै आएको खुलेको छ। भाट पक्राउ परेपछि अन्य संलग्न व्यक्तिहरू फरार हुने सम्भावना समेत रहेको बताइएको छ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइने बताएका छन्। उनका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले हालसम्म औपचारिक जाहेरी दर्ता भएको छैन।

पीडित पक्षले सोमबार जाहेरी दर्ता गर्ने तयारी गरिरहेको र त्यसपछि अनुसन्धानलाई थप तीव्र बनाइने एसपी खत्रीले बताए।