
धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले सेवाग्राहीलाई लक्षित गर्दै सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने अभियान सुरु गरेको छ। संघीय सरकारको नीतिअनुसार राहदानी, नागरिकता तथा राष्ट्रिय परिचयपत्रजस्ता सेवा हुलाकमार्फत सेवाग्राहीकै घरमा पठाउने व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सञ्चारकर्मीसँग कुरा गर्दै सोमबार मात्रै करिब २०० सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको जानकारी दिए।

उनका अनुसार अब सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै जानेछ। “कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पुर्याउने लक्ष्यका साथ काम अघि बढाएका छौं,” उनले भने।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार हाललाई राहदानी हुलाकमार्फत घरमै पठाउने व्यवस्था लागू गरिएको छ भने आगामी दिनमा अन्य सेवा समेत विस्तार गर्दै घरदैलोमै पुर्याउने तयारी भइरहेको छ।
यस व्यवस्थाले सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। विशेषगरी टाढा–टाढाबाट सेवा लिन आउने नागरिकलाई यसले उल्लेख्य राहत पुग्ने अपेक्षा गरिएको छ।
















