हेमा श्री फाउन्डेशनद्वारा २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Image
maya metro

आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा क्रियाशील हेमा श्री फाउन्डेशन नेपालले २५ जना विपन्न तथा अभिभावकविहीन र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

फाउन्डेशनले अमर माध्यमिक विद्यालय, जुपिटर स्कुल,बिणा विद्या मन्दिर, कैलाली भिजन स्कुल र भैरव आधारभूत विद्यालयमा अध्ययनरत ५/५ जना गरी २५ जना विद्यार्थीलाई झोला, कापी तथा कलम वितरण गरेको जनाएको छ। आर्थिक अवस्था कमजोर भएका तथा अभिभावकको सहारा नपाएका बालबालिकालाई लक्षित गर्दै कार्यक्रम संञ्चालन गरिएको हो।

nisarga

कार्यक्रमका सभापति तथा कार्यबाहक अध्यक्ष हेमन्त जोशी (बाजे) ले फाउन्डेशन स्थापना भएको छोटो समयमै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै दोस्रो स्थापना दिवसलाई अझ अर्थपूर्ण बनाउन विद्यार्थीलाई सहयोग गरिएको बताए। उनले भने, “हामीले विशेषगरी अभिभावकविहीन तथा विपन्न बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन सहयोग गर्ने लक्ष्य लिएका छौं। आगामी दिनमा अझ व्यापक रूपमा शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्नेछौं।”

कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले फाउन्डेशनले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यहरू सबैका लागि प्रेरणादायी भएको बताए। उनले भने, “छोटो समयमै यति महत्वपूर्ण सामाजिक कार्य गर्नु आफैंमा सराहनीय छ। यसले समाजमा सकारात्मक सन्देश दिएको छ र आगामी दिनमा अझ धेरैलाई सहयोग पुग्ने विश्वास लिएको छु।”

विशिष्ट अतिथिका रूपमा गौरीगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टेक बहादुर बोगटीको उपस्थिति रहेको कार्यक्रममा उनले स्थानीय तहले पनि यस्ता सामाजिक संस्थासँग सहकार्य गर्दै विपन्न समुदायको उत्थानमा जोड दिने बताए।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले फाउन्डेशनको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए।

फाउन्डेशनले विगत दुई वर्षदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक सहयोगका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। विशेषगरी गरिब,असहाय तथा अवसरबाट वञ्चित समुदायलाई लक्षित गर्दै विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको फाउन्डेशनका कार्यबाहक अध्यक्ष हेमन्त बाजेले बताएका छन् ।

दोस्रो स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले फाउन्डेशनको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। साथै, आगामी दिनमा अझ धेरै विद्यार्थी तथा समुदायलाई सहयोग पुर्‍याउने लक्ष्यसहित संस्थाले आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

फाउन्डेसनको बार्सिक कार्य प्रतिबेदन सहित स्वागत मन्तव्य सभाध्यक्ष हेमन्त राज जोशी (बाजे) ले ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन सचिव चक्रजित रावलले गरेका थिए।