
धनगढी – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल ठोक्किँदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटा बस्ने ४५ वर्षीय मिनबहादुर जागरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा बुधबार बेलुकी उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय मंगल महरा तथा म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक ४२ वर्षीय कम्मानसिंह ठगुन्ना घाइते भएका छन् । उनीहरूको माया मेट्रो अस्पताल मा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















