अत्तरियाका मासु पसलमा नगरपालिकाको अनुगमन, अधिकांस पसलको मासु खान अयोग्य

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्रमा सञ्चालित मासु पसलहरूको गोदावरी नगरपालिकाले अनुगमन गरेको छ । शुक्रबार १३ र शनीबार २२ गरी ३५ वटा मासु पसलहरुमा अनुगमन समितिकी संयोजक एवम् उप प्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा अनुगमन गरिएको हो ।

दुईदिने अनुगमनका क्रममा सरसफाइ, भण्डारण र व्यवसाय सञ्चालनमा गम्भीर लापरबाही भेटिएको छ । गोदावरी नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको बजार अनुगमन शनिबार सम्पन्न गर्दै करिब २० किलो अखाद्य मासु बरामद गरी नष्ट गरेको जनाएको छ ।

nisarga

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, वडा नम्बर-१ का वडा अध्यक्ष गोपालदत्त भट्ट, वडा नम्बर–२ का वडा सदस्य डबल बहादुर साउँद, पशु सेवा शाखा प्रमुख रामबहादुर सार्की, पशु चिकित्सक डाक्टर निलम कुमारी महतो लगायतको सहभागिता रहेको थियो ।
अधिकांश पसलमा मासु अस्वस्थकर तरिकाले राखिएको, फ्रिजभित्र मासुसँगै अन्य खानेकुरा खुला अवस्थामा राखिएको तथा सरसफाइमा लापरबाही गरिएको भेटिएको पशु चिकित्सक महतोले बताइन् ।

सरसफाई नभएको, मासु खुल्ला राखिएको र खुल्ला मासुसंगै अन्य खानेकुरा राखिएको पाइएकोले अधिकांश पसलमा बिक्रिका लागि राखिएको मासु खान अयोग्य भेटिएको उनले बताइन् ।

महतोका अनुसार मासुसँग अन्य खाद्य सामग्री एउटै फ्रिजमा खुला रूपमा राख्दा संक्रमण फैलिने जोखिम उच्च रहन्छ ।

उनले मासु सधैं छोपेर सुरक्षित तरिकाले भण्डारण गर्नुपर्ने बताइन्। अनुगमनका क्रममा कुहिएको तथा बिग्रिएको मासु जनावरलाई खुवाउन छुट्याएर राखिएको समेत भेटिएको उनले जानकारी दिइन् ।

उनका अनुसार त्यस्ता मासु जनावरलाई समेत खुवाउन नमिल्ने भएकाले व्यवसायीलाई सचेत गराइएको छ । प्रमुख प्रशासकीय अधिकृत विनाडीले केही पसल व्यवस्थित र सफा देखिए पनि धेरै पसलमा न्यूनतम मापदण्डसमेत पालना नगरिएको बताए ।

उनका अनुसार केही व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिएको पाइएकाले त्यस्ता पसललाई कानुनी प्रक्रियामा ल्याउन निर्देशन दिइएको छ । उनले व्यवसायीहरुलाई तालिमको आवश्यकता रहेको देखिएकोले आगामी आर्थिक वर्षमा त्यसको व्यवस्थापन गरिने बताएका छन् ।