
दार्चुला – महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल बाङ्गाबगर बस्दै आएका ३० वर्षीय रवि कुँवर, नौगाड गाउँपालिका–१ दल्लेखका २२ वर्षीय देवेन्द्र चुनारा र व्यास गाउँपालिका–१ तिङ्करका ३४ वर्षीय प्रलभ तिङ्करी रहेका छन् ।

प्रहरीका अनुसार रवि कुँवरको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले घर खानतलासी गर्दा ४ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३८ ग्राम १५० मिलिग्राम चरेसजस्तो कालो पदार्थ र एक थान डिजिटल तराजु बरामद गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














