
धनगढी – कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु भएसँगै भक्तजनको घुइँचो लागेको छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित बेहडाबाबा धाममा हरेक वर्षजस्तै यस वर्ष पनि ज्येष्ठ शुक्ल नवमीदेखि चतुर्दशीसम्म मेला आयोजना गरिएको हो।

स्थानीय स्तरमै आयोजना गरिएको मेला धनगढी उपमहानगरपालिका–१६ स्थित मन्दिर परिसरमा सुरु भएको आयोजकले जनाएको छ।
मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक आउने गरेका छन्। धार्मिक पर्यटन प्रवद्र्धन गर्दै बेहडाबाबालाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित मेला आयोजना हुँदै आएको बताइएको छ।
गंगादशहरा मेलाको अवसरमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदासमेत दिएको छ।















