
अत्तरिया – सडक डिभिजन कार्यालय महेन्द्रनगरले गड्डाचौकी–अत्तरिया–चिसापानी खण्डको महेन्द्र राजमार्ग क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन दिएको १५ दिने समयसीमा आज समाप्त हुँदैछ।
गत वैशाख ३० गते सडक डिभिजन कार्यालय महेन्द्रनगरले एक सूचना जारी गर्दै सडकको २५ मिटर दायाबाँयाका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।

राजमार्ग क्षेत्रमा बनेका अनधिकृत संरचना तोकिएको समयभित्र खाली नगरेमा कार्यालयले आफैँ संरचना भत्काउने र लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गर्ने बताएको थियो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश यादवले धेरै जसो व्यक्तिहरुले सडकको क्षेत्रमा भएका संरचनाहरु समयसीमाभित्र हटाइसकेको बताउँदै सुरक्षा निकायसंग समन्वय गरेर नहटाइएका संरचनाहरु हटाउने कार्य गरिने बताएका छन् ।
सडक क्षेत्रमा अधिकांश स्थायी संरचनाहरु नभइ अस्थायी संरचनाहरु मात्रै परेको पाइएको उनले बताएका छन् ।
सडकको क्षेत्रबाट अस्थायी संरचना हटाएका व्यक्तिहरु अब नजिकका वनको क्षेत्रमा सर्न थालेका छन् ।















