गेटा आँखा अस्पतालमा आन्दोलनरत कर्मचारीको माग एक हप्ताभित्र पुरा गरिने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-५ स्थित गेटा आँखा अस्पतालमा कार्यरत आन्दोलनरत कर्मचारीको माग एक हप्ताभित्र पुरा गरिने भएको छ ।

कञ्चनपुर ३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र महताको अगुवाइमा अस्पतालमा आज भएको छलफलले आन्दोलनरत कर्मचारीको माग एक हप्ताभित्र पुरा गर्ने सहमति भएको हो ।

nisarga

अस्पतालका निर्देशक डाक्टर सुरेश पन्तले आँखा अस्पतालको अधिकार क्षेत्रमा पर्ने मागहरु एक हप्ताभित्र पुरा गरिने र अन्य मागहरु नेपाल नेत्र ज्योती संघको केन्द्रिय कार्यालयलाई सिफारिस गरिने बताएका छन् ।

अस्पतालमा कार्यरत तल्लो तहका कर्मचारीहरु गत वर्षको बजेटमा बढेको महंगी भत्ता रु ३ हजार तत्काल कर्मचारीहरुलाई उपलब्ध गराईनुपर्ने, आईतबारको सार्वजनिक विदाका दिनमा अस्पतालमा ड्युटीमा आएका कर्मचारीहरुलाई दैनिक भत्ताको व्यवस्था गर्नुपर्ने, कर्मचारीहरुको स्थायी तथा बढुवाको निश्चित मापदण्ड बनाईनुपर्ने, कर्मचारीहरुको सामूहिक निर्णयको मागलाई २ जना कर्मचारीहरुलाई पूर्वाग्रही ढंगले लक्षित गरि अस्पताल प्रशासनबाट लेखिएको स्पष्टीकरण पेश गर्ने सम्बन्धको पत्र अस्पताल प्रमुखले फिर्ता लिनुपर्ने माग राख्दै वैशाख ३० गतेदेखि आन्दोलनरत छन् ।

उनीहरुले गेटा आँखा अस्पतालमा रिक्त वार्ड ईन्चार्जको पदपूर्ति गर्नुपर्ने, गेटा आँखा अस्पतालबाट संचालित आँखा अस्पताल, सर्जिकल सेन्टरमा रिक्त रहेको नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञको दरबन्दी सृजना गर्नुपर्ने (धनगढी बुद्धमन्दिर र्जिकल सेन्टर, टीकापुर आँखा अस्पताल, डडेल्धुरा आँखा अस्पताल ।) माग राख्दै आएका छन् ।

त्यस्तै कर्मचारीहरुलाई तालिमको समान अवसर प्रदान गर्नुपर्ने । (कुन कर्मचारी, कुन तालिममा सहभागी हुन गएको हो । उक्त व्यहोरा कर्मचारी सूचना पाटीमा स्पष्ट रुपमा लेखिनुपर्ने), अस्पतालमा कार्यरत कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, अस्पतालमा ३÷३ महिनामा अनिवार्य रुपमा कर्मचारी मिटिङ राख्नपर्ने, अस्पतालमा आर्ड वर्कर पदमा कार्यरत कर्मचारीहरुलाई विगतमा लिईएको तालिम सम्पन्न गरेको प्रमाण पत्र उपलब्ध गराउनुपर्ने, अस्पतालमा पारदर्शिता र सुशासन कायम गरिनुपर्ने गरी ११ वटा माग अघि सारेका छन् । एक हप्ताभित्र माग पुरा नभए आफूहरु फेरि विरोधमा उत्रिने कर्मचारीहरुले बताएका छन् ।